Logo

२२ माघ,वीरगञ्ज । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा देशभर चुनावी माहोल तातेको छ। निर्वाचन मिति नजिकिएसँगै उम्मेदवारहरू मतदाता भेटघाट, घरदैलो अभियान तथा प्रचार–प्रसारमा सक्रिय देखिएका छन्। राजनीतिक दलहरू आ–आफ्ना रणनीति, समीकरण र शक्ति सन्तुलनको गणनामा व्यस्त छन्।

यसै क्रममा बारा जिल्ला निर्वाचन क्षेत्र नं २ मा नेपाली कांग्रेसका उम्मेदवार भैयाराम यादवले चुनावी अभियानलाई तीव्र बनाएका छन्। घरदैलो कार्यक्रम तथा स्थानीय भेटघाटका क्रममा उनले मतदातासँग गरेका वाचा पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

उम्मेदवार यादवले आफूले क्षेत्र नं २ को मर्म र पीडा नजिकबाट बुझेको बताउँदै भने, “हामी जनतासँग गरेको वाचा पूरा गर्छौं। मैले यस क्षेत्रका समस्या, दुःख र आवश्यकता बुझेको छु। विश्वास गर्नुहोस्, सबै समस्याको समाधानका लागि इमानदार प्रयास गर्नेछु।”

उनले आफू अन्य उम्मेदवारहरूजस्तो झुटा आश्वासन नदिने दाबी गर्दै जनताको विश्वास नै आफ्नो मुख्य शक्ति भएको उल्लेख गरे। “हामी झुटो बोल्दैनौं, काम गरेर देखाउँछौं,” यादवले भने।

निर्वाचन नजिकिँदै जाँदा बारा–२ मा राजनीतिक गतिविधि थप चर्किंदै गएको छ। विभिन्न दलका उम्मेदवारहरू जनताको घर–घर पुगेर मत मागिरहेका छन् भने मतदाताहरू पनि उम्मेदवारका प्रतिबद्धता र कार्यक्रमलाई नजिकबाट नियालिरहेका छन्।


सम्बन्धित समाचार