२३ माघ, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले वर्तमान समयमा नागरिकमा व्याप्त चरम निराशा र राज्य संयन्त्रप्रतिको अविश्वासलाई चिर्न देशलाई सम्हाल्ने जिम्मेवार शक्तिको आवश्यकता रहेको बताउनुभएको छ ।
पोखरामा आयोजित कांग्रेस कास्कीको सभालाई सम्बोधन गर्दै थापाले समाजमा गहिरो रिस र असन्तुष्टि सल्किरहेको उल्लेख गर्दै यस्तो बेला उत्तेजना फैलाउनेहरू भन्दा पनि धैर्यतापूर्वक निकास दिने क्षमता कांग्रेसले राख्नुपर्नेमा जोड दिनुभयो । ‘आगो जसले पनि लगाउन सक्छ, तर निभाउन धैर्यता र क्षमता चाहिन्छ’ भन्दै उहाँले कांग्रेस अब चेतनाको राजनीति गर्ने र देशलाई दुर्घटनाबाट जोगाउने मुख्य शक्ति बन्ने दाबी गर्नुभयो ।
थापाले नागरिकको यो आक्रोश र अविश्वासको मुख्य जड भ्रष्टाचार भएको औंल्याउँदै अबको कांग्रेस भ्रष्टाचारविरुद्ध लड्ने सशक्त योद्धाका रूपमा उभिने संकल्प समेत गर्नुभयो । संविधान, अदालत र राजनीतिक नेतृत्वप्रति जनताको विश्वास धर्मराएको र सिङ्गो देशले नै आत्मविश्वास गुमाएको जस्तो देखिने वर्तमान कठिन परिस्थितिमा कांग्रेसले नै समाजलाई जोड्ने र सम्हाल्ने कार्यभार पूरा गर्ने उहाँको तर्क थियो ।
हिजोका दिनमा मुलुकलाई हिंसाको आहालबाट बाहिर निकाले झैँ अब भ्रष्टाचारको जालोबाट मुक्त गराउने अठोटका साथ घरदैलोमा जान उहाँले कार्यकर्ताहरूलाई निर्देशनसमेत दिनुभएको छ ।
















