Logo

२३ माघ, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा आफ्नो पार्टीले कसैसँग पनि चुनावी गठबन्धन नगरेको स्पष्ट पार्नुभएको छ ।

पार्टीको निर्वाचन परामर्श कार्यक्रममा सहभागी हुन पुग्नुभएका प्रचण्डले विशेष गरी झापा क्षेत्र नम्बर ५ लाई लिएर बाहिर आएका हल्लाहरू गलत भएको बताउनुभएको हो । एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) बीचको कडा प्रतिस्पर्धाका कारण चर्चामा रहेको यस क्षेत्रमा प्रचण्डको पार्टीले एमालेसँग भित्रभित्रै गृहकार्य गरिरहेको चर्चा चलेको थियो । तर, सञ्चारकर्मीहरूको जिज्ञासाको जवाफ दिँदै उहाँले अहिलेसम्म कुनै पनि शक्तिसँग गठबन्धन नभएको र आफ्नो पार्टी एक्लै चुनावमा जाने रणनीतिमा रहेको दाबी गर्नुभयो ।

झापा–५ मा नेकपाले रञ्जित तामाङलाई उम्मेदवार बनाएर चुनावी मैदानमा उतारेको छ, जसले गर्दा त्यहाँको भिडन्त थप त्रिकोणात्मक र रोचक हुने देखिएको छ। एकातर्फ नेकपा एमाले आफ्नो बिरासत जोगाउने दाउमा छ भने अर्कातर्फ रास्वपा र नेकपाका उम्मेदवारहरू पुराना शक्तिलाई चुनौती दिँदै नयाँ नतिजा निकाल्ने कसरतमा छन् ।

यसै सन्दर्भमा प्रचण्डले बाहिर आएका समाचारहरूले भ्रम छरेको भन्दै आफ्नो पार्टी आफ्नै एजेन्डा र उम्मेदवारका साथ जनतामा जाने बताउनुभयो । यो अडानले विशेष गरी झापा–५ को चुनावी गणितलाई कुन दिशामा लैजान्छ भन्ने कुराले राजनीतिक वृत्तमा नयाँ बहस छेडिदिएको छ।


सम्बन्धित समाचार