२२ माघ,वीरगञ्ज । पर्साको छिपहरमाई गाउँपालिका–मिर्जापुरमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को पालिका स्तरीय भेला सम्पन्न भएको छ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै भेलाले पर्सा निर्वाचन क्षेत्र नं ४ बाट उम्मेदवार जयप्रकाश थारुलाई विजयी गराउन ८५ सदस्यीय गाउँ स्तरीय निर्वाचन प्रचार–प्रसार समिति गठन गरेको छ।
स्थानीय नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थितिमा सम्पन्न भेलामा वक्ताहरूले जयप्रकाश थारुलाई जनताको चाहना र भरोसाको प्रतीकका रूपमा प्रस्तुत गरे। उनी कर्मठ, जनमुखी तथा विकासप्रेमी उम्मेदवार भएको उल्लेख गर्दै शिक्षा, स्वास्थ्य र समग्र विकास क्षेत्रमा पुर्याएको योगदान अविस्मरणीय रहेको बताइयो।
भेलामा सहभागी स्थानीयहरूले आगामी निर्वाचनमा थारुलाई भारी मतले विजयी गराउने प्रतिबद्धता व्यक्त गर्दै गाउँ–गाउँमा सशक्त प्रचार अभियान सञ्चालन गर्ने निर्णय गरेका छन्।
नेकपाले यस किसिमका संगठनात्मक गतिविधिहरूलाई निरन्तरता दिँदै क्षेत्र नं ४ मा चुनावी अभियानलाई थप तीव्र बनाउने जनाएको छ।
















