Logo

२३ माघ,वीरगञ्ज । सामाजिक सञ्जालमार्फत राजनीतिक दलको प्रचार गरेको आरोपमा पर्सा प्रहरीले एकजना प्रहरी हवल्दारलाई नियन्त्रणमा लिएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी अभियानलाई प्रवर्द्धन गर्ने उद्देश्यले हवल्दार श्यामनारायण पटेलले आफ्नो सामाजिक सञ्जालमा प्रचार तथा टिप्पणी गर्दै आएको पाइएको छ। यसै आधारमा उनलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको पर्साका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए।

बस्नेतका अनुसार केही घण्टाअघि नेसनल मेडिकल कलेजबाट नियन्त्रणमा लिइएको हवल्दार पटेलमाथि आन्तरिक अनुसन्धान प्रक्रिया अघि बढाइएको छ। उनको कार्य प्रहरी आचरणविपरीतको भएको आरोप लागेको छ।

प्रहरी ऐन तथा नियमावलीअनुसार कुनै पनि प्रहरी अधिकारी वा कर्मचारीले राजनीतिक दलको प्रचार–प्रसार गर्नु आचरणविपरीत मानिने भएकाले यस किसिमको गतिविधि गर्न नपाइने व्यवस्था छ।

जिल्ला प्रहरी कार्यालय पर्साले अनुसन्धान जारी रहेको र आवश्यक कानुनी प्रक्रिया अघि बढाइने जनाएको छ।


सम्बन्धित समाचार