Logo

२४ माघ,वीरगञ्ज । नेपाली कांग्रेसबाट पर्सा क्षेत्र नम्बर–२ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार अजयकुमार चौरसियाले स्वास्थ्य, शिक्षा र रोजगारीलाई केन्द्रमा राख्दै ठूला विकास परियोजना अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

वीरगन्ज महानगरपालिका–९ मा आयोजित वडास्तरीय भेलामा सम्बोधन गर्दै चौरसियाले आम जनताको सहज स्वास्थ्य सेवाका लागि नारायणी अस्पताललाई मेडिकल कलेजको रूपमा विकास गर्ने योजना रहेको घोषणा गरे। उनका अनुसार यसले पर्सा र मधेस क्षेत्रका नागरिकलाई गुणस्तरीय उपचार सेवा उपलब्ध गराउनेछ।

स्वास्थ्यसँगै खेलकुद पूर्वाधारमा सुधारमा पनि जोड दिँदै उनले नारायणी रंगशालालाई मर्मत तथा स्तरोन्नति गरेर आकर्षक बनाउने प्रतिबद्धता जनाए।

उम्मेदवार चौरसियाले देशको आर्थिक अवस्था कमजोर हुँदै गएको उल्लेख गर्दै युवालाई रोजगारी प्रदान गर्नु आफ्नो प्रमुख प्राथमिकता रहेको बताए। यसका लागि उनले यसै क्षेत्रमा पोलिटेक्निकल कलेज स्थापना गर्न बजेट विनियोजन गरिसकेको जानकारी पनि दिए। कलेज स्थापना भएपछि स्थानीय युवाले स्वदेशमै सीप र रोजगारी पाउने र विदेश जान नपर्ने वातावरण सिर्जना हुने उनको दाबी छ।

चौरसियाले अघिल्ला निर्वाचनमा गरेका प्रतिबद्धतामध्ये वृद्धाश्रम निर्माण कार्य कार्यान्वयनको चरणमा पुगेको र त्यसका लागि विभिन्न निकायबाट बजेट विनियोजन गरिएको जानकारी पनि प्रदान गरे।

उम्मेदवारले अब निर्वाचित भएपछि युवालाई प्राथमिकतामा राख्दै उद्योगधन्दा स्थापना गर्ने योजना अघि बढाउने प्रतिबद्धता पनि व्यक्त गरे।

चुनाव नजिकिँदै जाँदा चौरसियाका यी घोषणाले पर्सा क्षेत्र नम्बर–२ मा राजनीतिक चर्चा थप चुलिएको छ।


सम्बन्धित समाचार