२४ माघ,काठमाडौं । १०औँ संस्करणको आईसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा पाकिस्तानले विजयी सुरुआत गरेको छ। आज भएको उद्घाटन खेलमा पाकिस्तानले नेदरल्यान्ड्सलाई ३ विकेटले पराजित गरेको हो।
नेदरल्यान्ड्सले दिएको १ सय ४८ रनको लक्ष्य पाकिस्तानले १९ ओभर ३ बलमा ७ विकेट गुमाउँदै पूरा गर्यो। पाकिस्तानका साहिबजादा फरहानले सर्वाधिक ४७ रनको योगदान दिए। बलिङतर्फ नेदरल्यान्ड्सका आर्यन दत्त र पॉल भ्यान मिकरेनले समान २–२ विकेट लिए।
यसअघि श्रीलङ्काको कोलम्बोस्थित सिंहाली स्पोर्ट्स क्लब क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेदरल्यान्ड्स १९ ओभर ५ बलमा १ सय ४७ रनमा अलआउट भयो। नेदरल्यान्ड्सका स्कट एडवर्ड्सले सर्वाधिक ३७ रन बनाए। पाकिस्तानका सलमान मिर्जाले ३ विकेट लिए।
आजै हुने दोस्रो खेलमा वेस्ट इन्डिज र स्कटल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ। कोलकाताको इडेन गार्डेनमा स्कटल्यान्डले टस जितेर बलिङ रोजेको छ। यस्तै आजको तेस्रो तथा अन्तिम खेलमा आयोजक भारत र अमेरिका आमनेसामने हुँदैछन्। उक्त खेल मुम्बईको वानखडे स्टेडियममा नेपाली समयअनुसार बेलुका सवा ७ बजे सुरु हुनेछ।
यस विश्वकपमा नेपालले पनि सहभागिता जनाउँदैछ। नेपालले भोलि मुम्बईमै इङ्ग्ल्यान्डसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ।
सुरक्षा कारण देखाउँदै बङ्गलादेश भारत आउन नमानेपछि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले उसको स्थानमा स्कटल्यान्डलाई प्रतियोगितामा समावेश गरेको हो।
प्रतियोगितामा २० टोली सहभागी छन्, जसलाई ४ समूहमा विभाजन गरिएको छ। प्रतियोगिता आउँदो मार्च ८ तारिखसम्म सञ्चालन हुनेछ। हालसम्म ६ टोलीले टी–२० विश्वकपको उपाधि जितिसकेका छन्। भारत, इङ्ग्ल्यान्ड र वेस्ट इन्डिजले २–२ पटक तथा पाकिस्तान, श्रीलङ्का र अस्ट्रेलियाले १–१ पटक उपाधि जितेका छन्।
















