२४ माघ,वीरगञ्ज ।बारा क्षेत्र नम्बर ४ अन्तर्गत पर्ने फेटा गाउँपालिकामा जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार सन्जु साहको चुनावी सम्पर्क कार्यालय स्थापना गरिएको छ। शनिबार फेटा गाउँपालिका वडा नम्बर ३ स्थित फेटा बजारमा स्थापना गरिएको सम्पर्क कार्यालयको मधेस प्रदेशका पूर्वमुख्यमन्त्री जितेन्द्र सोनलले उद्घाटन गरेका हुन्।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै जसपा नेपालका नेता समेत रहेका सोनलले मधेसी समुदायले हालसम्म प्राप्त गरेका अधिकारको रक्षा तथा बाँकी रहेका मधेसका मुद्दाको सम्बोधनका लागि जसपा नेपालको जित अपरिहार्य रहेको बताए। जसपा नेपालकै पहलमा मधेसी समुदायले पहिचान र सम्मान पाएको दाबी गर्दै उनले भने, “मधेस आन्दोलनअघि काठमाडौं केन्द्रित शासकहरूले मधेसीमाथि सधैं हेला र विभेद गर्दै आएका थिए। त्यसविरुद्ध संगठित रूपमा संघर्ष गर्ने पहिलो पार्टी उपेन्द्र यादवको नेतृत्वमा रहेको यही पार्टी हो।”
उनले आज मधेसी समुदायले पाएको पहिचान र सम्मानको श्रेय जसपा नेपाललाई जाने उल्लेख गर्दै बाँकी रहेका मधेसका मुद्दा संविधान संशोधनमार्फत सम्बोधन गर्न, संघीयतालाई थप सुदृढ बनाउन मधेसी जनताले जसपा नेपाललाई विजयी गराउनुपर्नेमा जोड दिए।
फेटा–३ का पूर्व वडाध्यक्ष उपेन्द्र साहको अध्यक्षता तथा पूर्वमुख्यमन्त्री सोनलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बारा–४ का जसपा नेपालका उम्मेदवार सन्जु साह, क्षेत्रीय नेता सीताराम गुप्ता, मदन साह, झगरु साह, मनोज साह कलवार, अनिल साह लगायतका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।
















