२४ माघ,काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै देशभर सुरक्षा व्यवस्था सुदृढ गरिएको दाबी गरेका छन्। निर्वाचन सुरक्षा तथा आचारसंहिता कार्यान्वयनको अवस्थाबारे मुख्य निर्वाचन अधिकृतको कार्यालयमा जानकारी लिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताए।
उनले वर्तमान सरकारको प्रमुख जिम्मेवारी शान्तिपूर्ण र निष्पक्ष रूपमा निर्वाचन सम्पन्न गराउनु रहेको उल्लेख गर्दै सुरक्षाको प्रभावकारी प्रबन्ध मिलाइएको जानकारी दिए। “वर्तमान सरकारको प्रमुख दायित्व चुनाव गराउनु भएकाले हाम्रो ध्यान शान्तिपूर्ण वातावरणमा त्यो सम्पन्न गर्नेमा नै केन्द्रित छ। मतदातालाई निर्भीक भएर मतदान प्रक्रियामा सहभागी हुन अनुरोध गर्दछु,” गृहमन्त्री अर्यालले भने।
देशभर निर्वाचनको वातावरण बनिसकेको बताउँदै उनले फागुन २१ गते मौसम अनुकूल रहनेबारे मौसम पूर्वानुमान गर्ने निकाय तथा विज्ञहरूबाट जानकारी प्राप्त भएको पनि स्पष्ट पारे।
















