Logo

२५ माघ,रौतहट । आउँदो फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै जाँदा रौतहटका चारवटै निर्वाचन क्षेत्रमा चुनावी चहलपहल तीव्र बन्दै गएको छ। शीर्ष नेतादेखि पूर्वमन्त्री, अनुभवी राजनीतिज्ञ र नयाँ अनुहारसम्म मतदाताको विश्वास जित्न गाउँ–गाउँ र टोल–टोलमा घरदैलो अभियानमा सक्रिय देखिएका छन्।

क्षेत्र नम्बर १ मा यसपटक निकै रोचक प्रतिस्पर्धा देखिएको छ। पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का सह–संयोजक माधवकुमार नेपाल यहाँबाट चुनावी मैदानमा उत्रिएका छन्। उनलाई नेकपा एमालेका केन्द्रीय सदस्य तथा पूर्वनगर प्रमुख अजय कुमार गुप्ताले कडा चुनौती दिएका छन्।
यस्तै, नेपाली कांग्रेसबाट पूर्वउद्योगमन्त्री अनिल कुमार झा, जसपा र लोसपाको साझा उम्मेदवारका रूपमा मधेश प्रदेशका पूर्वकृषि राज्यमन्त्री योगेन्द्र राय यादव पनि सक्रिय छन्। रास्वपाका राजेश चौधरी, जनमत पार्टीका देवेन्द्र मिश्र, आम जनता पार्टीका त्रिभुवन साह र जनअधिकार पार्टीका संजय यादवले पनि चुनावी माहोल तताइरहेका छन्। यस क्षेत्रमा विकास र पूर्वाधार निर्माण नै प्रमुख चुनावी एजेन्डा बनेको छ।

क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका डा. मोहम्मद फिर्दोस आलम र नेकपा एमालेका मोहम्मद अतिउल्लाहबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ। साथै, नेकपाका पूर्वसांसद किरण कुमार साह, जसपाका राम आशिस यादव, रास्वपाका शेख सगीर र आम जनता पार्टीका भगवान पटेल पनि चुनावी मैदानमा छन्।

क्षेत्र नम्बर ३ मा आम जनता पार्टीका राष्ट्रिय अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साह पुनः आफ्नो राजनीतिक वर्चस्व कायम राख्ने प्रयासमा छन्। उनलाई चुनौती दिन नेकपाकी समाजसेवी महिला उम्मेदवार पुनम यादव र नेकपा एमालेका पूर्वप्रदेश सांसद कुन्दन कुशवाहा मैदानमा उत्रिएका छन्। यस क्षेत्रमा रास्वपाका रविन्द्र पटेल धिरज, नेपाली कांग्रेसका राम कृपाल यादव, जसपाका गोविन्द चौधरी, जनमत पार्टीका शेख प्रबेज आलम र नेमकिपाकी रेखा पटेल पनि घरदैलो अभियानमा व्यस्त छन्।

क्षेत्र नम्बर ४ यसपटक देशव्यापी चासोको केन्द्र बनेको छ। चर्चित पूर्व सञ्चारकर्मी ऋषि धमला आम जनता पार्टीबाट उम्मेदवार बनेसँगै यहाँको प्रतिस्पर्धा थप रोचक बनेको छ। यस क्षेत्रमा नेपाली कांग्रेसका देव प्रसाद तिमिल्सिना, नेकपा एमालेका रामजी साह, नेकपाका राम कुमार भट्टराई र रास्वपाका गणेश पौडेलबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ।

सबै क्षेत्रमा उम्मेदवारहरूले बेरोजगारी समस्या समाधान, शिक्षा र स्वास्थ्य सेवामा सुधार, सडक सञ्जाल विस्तार, सिँचाइ तथा समग्र विकासलाई प्रमुख चुनावी प्रतिवद्धताका रूपमा अघि सारेका छन्।

फागुन २१ गतेको निर्वाचनले रौतहटको राजनीतिक भविष्य कुन दिशामा मोडिने हो भन्ने टुंगो लगाउनेछ। हाल भने जिल्लाका गाउँ–बस्तीमा चुनावी नारा, भेटघाट र उत्साहले माहोल निकै तातिएको छ।


सम्बन्धित समाचार