Logo

२५ माघ, काठमाडौं । निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई हाजिर जमानीमा रिहा गर्ने निर्णय भएको छ ।

गत शुक्रबार काठमाडौँको चाल्नाखेलबाट प्रहरी नियन्त्रणमा परेका प्रसाईंलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी रिहा गर्न लागिएको साइबर ब्युरोका एक उच्च अधिकृतले जानकारी दिएका छन् । उनीमाथि आगामी प्रतिनिधिसभा निर्वाचनलाई प्रभावित पार्ने र शान्ति सुरक्षामा खलल पुर्‍याउने खालका गतिविधि गरेको अभियोग लगाइएको थियो ।

पछिल्लो समय निरन्तर विवाद र पक्राउको शृङ्खलामा रहेका प्रसाईं यसअघि पनि सार्वजनिक शान्ति विरुद्धको कसुरमा कारबाहीको दायरामा आइसकेका छन् । गत माघ ५ गते पोखराबाट पक्राउ परेका उनलाई भोलिपल्टै माघ ६ गते हाजिर जमानीमा छाडिएको थियो । पटक–पटक पक्राउ पर्ने र केही दिनको अन्तरालमै हाजिर जमानीमा रिहा हुने क्रमले प्रसाईंविरुद्धका मुद्दा र अनुसन्धानको प्रकृतिलाई लिएर विभिन्न कोणबाट बहस सुरु भएको छ ।

प्रसाईंले चलाउँदै आएको महाअभियान र उनका पछिल्ला अभिव्यक्तिहरूलाई सरकारले गम्भीरतापूर्वक निगरानी गरिरहेको छ। प्रहरीले उनलाई रिहा गरे पनि उनीमाथि लागेका आरोपहरूको अनुसन्धान भने जारी रहने बताइएको छ । कानुनी प्रावधान अनुसार अनुसन्धानका क्रममा जुनसुकै बेला उपस्थित हुनुपर्ने सर्तसहित उनलाई घर पठाइने प्रक्रिया अघि बढाइएको हो ।


सम्बन्धित समाचार