२६ माघ,काठमाडौं ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापा–५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बालेन्द्र शाह (बालेन) ले प्रयोग गरेको ल्यान्डरोभर डिफेन्डरसहित १५ वटा सवारी साधन कर छली गरी भित्र्याइएको आशंकामा अनुसन्धान गरिरहेको छ।
अख्तियार स्रोतका अनुसार काठमाडौं महानगरपालिकाका निवर्तमान मेयर शाहले विवादास्पद गुट्खा व्यापारी कमल किशोर मालपानीको स्वामित्वमा रहेको करिब ८ करोड रुपैयाँभन्दा बढी मूल्य पर्ने ल्यान्डरोभर डिफेन्डर गाडी झापा लगायत पूर्वी क्षेत्रमा चुनावी प्रचारमा प्रयोग गरेका थिए। उक्त गाडी कर छली गरी आयात गरिएको आरोपपछि सामाजिक सञ्जाल र सार्वजनिक वृत्तमा शाहको चर्को आलोचना भएको थियो।
अख्तियारको प्रारम्भिक अनुमानअनुसार शाहले प्रयोग गरेको ल्यान्डरोभरसहित १५ वटा गाडीबाट कुल २ करोड २१ लाख ६० हजार २०५ रुपैयाँ बराबरको राजस्व छली भएको देखिएको छ। ती सवारी साधन आयात र दर्ताका क्रममा कसको मिलेमतोमा राजस्व छली भयो भन्ने विषयमा अख्तियारले अनुसन्धान अघि बढाएको जनाएको छ।
यातायात व्यवस्था कार्यालय, साना–ठूला सवारी, एकान्तकुना (ललितपुर) ले सवारी साधनहरूको दर्ता चेकजाँच गर्दा ‘एकिन चेकजाँच’ नगरी भन्सार कार्यालयबाट प्राप्त पत्रकै आधारमा गलत विवरण राखी दर्ता गरिएको पाइएको अख्तियार स्रोतले जनाएको छ।
अनुसन्धानका क्रममा ल्यान्डरोभर कम्पनीको डिफेन्डर ११० मोडल (२९९६ सीसी डिजेल इन्जिन) गाडीमा ३५८.६७ प्रतिशत भन्सारदर लाग्नुपर्नेमा पेट्रोल इन्जिन, प्लग–इन हाइब्रिडको २९९६ सीसी भन्दै २५७.९८ प्रतिशत मात्र भन्सार तिरेर जाँचपास गरिएको पाइएको छ। यसरी दुई वटा गाडीबाट मात्रै १ करोड ५० लाख ११ हजार १९३ रुपैयाँ राजस्व छली भएको देखिएको छ।
तीमध्ये शाहले प्रयोग गरेको गाडीमा मात्रै ७६ लाख ५० हजार ७२० रुपैयाँ कर छली भएको प्रारम्भिक निष्कर्ष छ। उस्तै प्रकृतिको अर्को ल्यान्डरोभर गाडीमा पनि ७३ लाख रुपैयाँभन्दा बढी कर छली भएको देखिएको छ।
यसैगरी ल्यान्डरोभर कम्पनीका तीन वटा रेन्ज रोभर भेलार र एउटा रेन्ज रोभर इभोक गरी चार वटा डिजेल इन्जिनका सवारी साधनमा पनि कर छली भएको पाइएको छ। ती गाडीमा २९१.५५ प्रतिशत भन्सारदर लाग्नुपर्नेमा २५७.९८ प्रतिशत मात्र लगाई जाँचपास गरिएको देखिएको छ। यी चार गाडीबाट ७१ लाख ४९ हजार ११ रुपैयाँ राजस्व छली भएको प्रारम्भिक छानबिनमा खुलेको छ। ती सवारी साधन वीरगन्ज भन्सारबाट भित्रिएका थिए।
प्रारम्भिक छानबिनमा यातायात व्यवस्था विभाग, मीनभवनले सवारी साधनको स्पेसिफिकेसनमा गलत विवरण उल्लेख गरी आयात तथा दर्ताका लागि यातायात कार्यालय, भन्सार विभाग र भन्सार कार्यालयलाई पत्राचार गरेको समेत पाइएको छ।
अख्तियारका अनुसार ज्ञानेश्वरस्थित काइरोस इन्टरनेसनल प्रालिले सन् २०२४ देखि हालसम्म आयात गरेका ल्यान्डरोभर कम्पनीका विभिन्न मोडलका १५ वटा सवारी साधनको भन्सार कागजात र प्राविधिक विवरण भिडाएर जाँच गर्दा कर छली भएको देखिएको हो। काइरोस इन्टरनेसनल प्रालि कमल किशोर मालपानीकै कम्पनी हो।
अख्तियारले भन्सार विभाग, वाणिज्य विभाग, यातायात व्यवस्था विभागका कर्मचारी र व्यवसायीहरूको मिलेमतोमा सवारी साधन आयात गरिएको आशंकामा विस्तृत अनुसन्धान जारी राखेको जनाएको छ।
















