Logo

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालमा भूराजनीतिक चहलखेल र हस्तक्षेपको प्रयास भइरहेको टिप्पणी गरेका छन्।

काठमाडौं निर्वाचन क्षेत्र नम्बर–५ मा सोमबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक प्रचण्डले विश्व साम्राज्यवादी शक्तिहरूले विभिन्न देशमा लोकतन्त्र र समाजवादविरुद्ध प्रहार गराउन पपुलिस्ट शक्तिहरूमा लगानी गर्ने गरेको आरोप लगाए।

उनले कुनै ठोस योगदान नगरेकाहरू सामाजिक सञ्जालमा स्टन्ट गरेर मात्रै राजनीति जित्ने प्रयासमा लागेको उल्लेख गर्दै यस प्रवृत्तिले लोकतन्त्रलाई कमजोर बनाउने चेतावनी दिए।

प्रचण्डले भने, “अहिले नेपालमा लोकप्रियतावाद हाबी हुन खोजेको छ। सामाजिक सञ्जालमा स्टन्ट गरेका भरमा केही शक्तिहरू राजनीतिमा स्थापित हुन खोजिरहेका छन्। विश्व साम्राज्यवादले विभिन्न देशमा पपुलिज्मलाई समाजवाद र लोकतन्त्रविरुद्ध प्रयोग गर्छ। नेपालमा पनि अहिले भूराजनीतिक चलखेलमार्फत हस्तक्षेप गर्ने प्रयास भइरहेको छ।”

उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तर्फ संकेत गर्दै पपुलिस्ट शक्तिहरूलाई विदेशी शक्तिले लोकतन्त्रविरुद्ध प्रयोग गर्ने पात्रका रूपमा चित्रण गरे।

संयोजक प्रचण्डले २६ वटा घटकहरू मिलेर बनेको नेकपा अब देशकै सबैभन्दा ठूलो पार्टी बन्ने दाबी समेत गरे।


सम्बन्धित समाचार