Logo

 २६ माघ,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने चुनाव जिते पनि सांसद पद सम्हाल्न नपाउने सम्भावनाबारे उठिरहेका चर्चाप्रति स्पष्ट प्रतिक्रिया दिएका छन्। विरोधी पक्षले यही विषयलाई लिएर रविलाई मतदान गर्नुको औचित्यमाथि प्रश्न उठाइरहेका बेला लामिछानेले कानूनी प्रक्रियाप्रति आफू विश्वस्त रहेको बताएका हुन्।

चितवन क्षेत्र नम्बर–२ बाट तेस्रोपटक उम्मेदवार बनेका लामिछाने अहिले चुनावी क्षेत्रमा सक्रिय छन्। पार्टी कार्यकर्ता, मतदाता र स्थानीय सरोकारवालासँग भेटघाट गर्दै उनले जनताका गुनासा र अपेक्षा सुनिरहेका छन्।

यही क्रममा एक मतदाताले उनलाई सांसद निर्वाचित भए पनि स्वतः निलम्बन हुने कानूनी व्यवस्थाबारे प्रश्न गरे। जवाफमा लामिछानेले नियम र कानूनअनुसार मात्र निर्णय हुने उल्लेख गर्दै राजनीतिक प्रतिशोधका आधारमा कुनै कदम चाल्न नहुने बताए।

उनले भने, “सभामुख उही पुरानै भए र कसैको आदेशमा काम भयो भने त होला स्वतः निलम्बन। तर यो देशमा नियम, कानून र संसदीय प्रक्रिया छ। सबै कुरा कानूनअनुसार नै हुन्छ।”

लामिछानेले आफू सांसद हुन नपाए पनि जनताका पक्षमा काम गरिरहने प्रतिबद्धता जनाए। “म राजनीतिमा आउनुअघि पत्रकार थिएँ। त्यसअघि पनि समाजका लागि केही काम गरेकै थिएँ। सांसद नभए पनि मान्छे भएर काम गर्न सकिन्छ,” उनले भने।

उनले न्यायिक प्रक्रियाप्रति आफ्नो गहिरो विश्वास रहेको उल्लेख गर्दै प्रतिशोधपूर्ण गतिविधि भए त्यसविरुद्ध कानूनी बाटो अपनाइने बताए। “यदि गलत भयो भने के गर्ने भन्ने कुरा कानूनी प्रक्रियाबाटै समाधान हुन्छ। मलाई अदालत र न्याय प्रक्रियामाथि विश्वास छ,” उनको भनाइ थियो।

हाल रवि लामिछानेविरुद्ध देशका विभिन्न अदालतमा सहकारी ठगीसम्बन्धी मुद्दा विचाराधीन छन्। उनीमाथि सम्पत्ति शुद्धीकरण र संगठित अपराधका मुद्दा पनि दर्ता छन्। यद्यपि महान्यायाधिवक्ताको कार्यालयले ती मुद्दा फिर्ता लिने निर्णय गरे पनि कार्यान्वयन भइसकेको छैन। मुद्दा अदालतमा विचाराधीन रहेका अवस्थामा सांसद पदमा रहन नपाउने कानूनी प्रावधान छ।


सम्बन्धित समाचार