२६ माघ,बुटवल . राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले फागुन २१ को प्रतिनिधि सभा निर्वाचन दल र नेताले नभई देशले जित्ने चुनाव हुने बताएका छन्। ‘जनसम्पर्क’ कार्यक्रममा रूपन्देही क्षेत्र नं. १, देवदह खैरेनीमा उपस्थित लामिछानेले हरेक निर्वाचनमा दलले जित्दै आएको भए पनि यसपटक देशको जित सुनिश्चित हुने दाबी गरे।
लामिछानेले पार्टीमा पद बाँडफाँट नभई जिम्मेवारीको बाँडफाँट भएको स्पष्ट पार्दै भने, “हामीले पद बाँडेका छैनौं, जिम्मेवारी विभाजन गरिएको छ।” उनले अबको पाँच वर्ष एउटै सभापति, एउटै प्रधानमन्त्री र एउटै सरकार रहने भएकोले कार्यमा जोड दिनुपर्ने पनि बताए।
सभापति लामिछानेले घोषणापत्रमा विश्वास नभइ काममा विश्वास गर्ने तर्क गर्दै विगतका सरकारहरूले गर्न नसकेका काम पूरा गर्ने प्रतिवद्धता दोहोर्याए।
देवदहबाट सुरु भएको रुपन्देही जिल्ला स्तरीय अभियान साँझ लुम्बिनीमा समापन हुने र लामिछानेले त्यसपछि कपिलवस्तु जिल्लामा प्रवेश गर्ने रास्वपाले जनाएको छ। रास्वपा रुपन्देहीका सभापति डा. बुद्धि प्रसाद शर्माले कार्यक्रम क्रममा बाटोमा पर्ने २६ स्थानमा सम्बोधन गर्न समय अभावका कारण केहीबेर रोकिएर लामिछानेले उपस्थित जनतालाई हात हल्लाएर बिदा गर्ने जानकारी दिएका छन्।
















