Logo

२६ माघ,वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार रामकिशोर सिंह (पराग)ले वीरगञ्ज महानगरपालिका वडा नम्बर ३२ अन्तर्गत रामबन र तेढा गाउँमा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्।

घरदैलोका क्रममा उम्मेदवार सिंहले स्थानीयवासी तथा युवाहरूसँग प्रत्यक्ष भेटघाट गर्दै उनीहरूका गुनासा र समस्याहरू सुने। स्थानीयहरूले बस्ती व्यवस्थापन, नाला तथा सडक विकास, शिक्षा र स्वास्थ्य सेवामा देखिएका समस्याबारे आफ्नो धारणा राखेका थिए।

सो अवसरमा युवाहरूले रोजगारीको अभावका कारण केही युवा लागुऔषधको चपेटामा परेको विषय उठाएका थिए। उम्मेदवार सिंहले उक्त समस्या गम्भीर रहेको बताउँदै आफू निर्वाचित भएलगत्तै युवाहरूका लागि रोजगारीका अवसर सिर्जना गर्ने, सीपमूलक तालिम तथा आत्मनिर्भर कार्यक्रममार्फत रोजगारका सम्भावना विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा स्थानीयवासीहरूले उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङलाई काम गर्ने व्यक्तित्वका रूपमा उल्लेख गर्दै उम्मेदवार सिंहप्रति पनि जनताको हितमा काम गर्ने अपेक्षा व्यक्त गरे। “तपाईं पनि जनताको लागि काम गर्ने नेता बन्नुहोस्, हामी तपाईंको साथमा छौं,” स्थानीयहरूको भनाइ थियो।

घरदैलो कार्यक्रममा स्थानीय युवाहरूको उल्लेख्य सहभागिता देखिएको थियो भने उज्यालो नेपाल पार्टीप्रति जनसमर्थन बढ्दै गएको संकेत देखिएको छ।


सम्बन्धित समाचार