Logo

२९ माघ,काठमाडौं ।आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ मा नेपालले आफ्नो दोस्रो खेलमा इटालीसँग प्रतिस्पर्धा गरिरहेको छ। भारतको मुम्बईस्थित वानखेडे रंगशालामा टस जितेर इटालीले बलिङ रोजेपछि नेपालले पहिले ब्याटिङ थालेको हो।

नेपालको सुरुआत भने अपेक्षाअनुसार हुन सकेन। ओपनर कुशल भुर्तेल दोस्रो ओभरको अन्तिम बलमा अली हसनको बलमा जस्टिन मोस्काबाट कभर प्वाइन्टमा क्याच आउट भए। उनले सुरुआती ओभरमा रन जोड्न सकेनन् भने नेपालले सुरुआती रन वाइडबाट लिएको थियो। दोस्रो ओभरको पाँचौँ बलमा चौका प्रहार गरेलगत्तै भुर्तेल पेभिलियन फर्किए।

त्यसपछि कप्तान रोहित पौडेलले इनिङ सम्हाल्दै रनगति बढाए। उनको आक्रामक ब्याटिङका कारण नेपालले ६ ओभरको पावरप्लेमा १ विकेट गुमाएर ४६ रन जोड्न सफल भयो।

तर सातौँ ओभरको अन्तिम बलमा रोहित १४ बलमा २ चौका सहित २३ रन बनाएर लङअनमा क्याच भए। उनलाई क्रिशन कलुगामागेले आउट गरेका हुन्।

लगत्तै अर्को ओभरमा आफिफ शेख पनि आउट भए। उनले २० बलमा २ चौका प्रहार गर्दै २० रन जोडेका थिए। सुरुआतमै तीन विकेट गुमाएपछि नेपाल दबाबमा देखिएको छ।

हाल नेपाल १० ओभरको समाप्तिमा ३ विकेट गुमाएर ६७ रनको अवस्थामा पुगेको छ। खेल जारी छ।


सम्बन्धित समाचार