Logo

२९ माघ,काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा नेपाल इटालीसँग १० विकेटले पराजित भएको छ। भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा भएको खेलमा नेपालले दिएको १२४ रनको लक्ष्य इटालीले १२ ओभर ४ बलमै एक विकेट पनि नगुमाई पूरा गरेको हो।

इटालीका एन्थोनी मोस्काले ६२ र जस्टिन मोस्काले ६० रन बनाउँदै टोलीलाई सहज जित दिलाए। दुवै खेलाडीले आक्रामक ब्याटिङ प्रदर्शन गर्दै नेपाली बलिङ आक्रमणलाई दबाबमा राखेका थिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले १९ ओभर ३ बलमा सबै विकेट गुमाउँदै १२३ रन बनाएको थियो। नेपालका लागि आरिफ शेखले २७ रन बनाउँदा कप्तान रोहित पौडेलले २३, आसिफ शेखले २० तथा करण केसीले अविजित १८ रन जोडे। इटालीका क्रिशन कालुगामेजले ३ विकेट लिँदै नेपाललाई मध्यम स्कोरमा रोक्न महत्वपूर्ण भूमिका खेले।

आजको खेलमार्फत नेपालका ललित राजवंशीले टी–२० विश्वकपमा डेब्यु गरेका छन्। उनी शेर मल्लको स्थानमा टोलीमा परेका हुन्।

प्रतियोगितामा नेपालको यो लगातार दोस्रो हार हो। यसअघि पहिलो खेलमा नेपाल इङ्ग्ल्यान्डसँग ४ रनले पराजित भएको थियो। उता, पहिलो पटक विश्वकप खेलिरहेको इटालीले यस खेलमार्फत पहिलो जीत दर्ता गरेको छ। इटाली पहिलो खेलमा स्कटल्यान्डसँग ७३ रनले पराजित भएको थियो।

आज भएको पहिलो खेलमा श्रीलङ्काले ओमानलाई १०५ रनले पराजित गर्दै लगातार दोस्रो जीत हासिल गरेको छ। आजै तेस्रो खेलमा बेलुकी सवा ७ बजे भारत र नामिबिया प्रतिस्पर्धा गर्दैछन्।

२० टोली सहभागी १०औँ संस्करणको टी–२० विश्वकप चार समूहमा विभाजन गरिएको छ। प्रत्येक समूहका शीर्ष दुई टोली ‘सुपर–एट’ चरणमा पुग्नेछन्। त्यसपछि ‘सुपर–एट’ का आठ टोली दुई समूहमा विभाजन हुनेछन् र प्रत्येक समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्। प्रतियोगिताको फाइनल खेल आउँदो मार्च ८ मा हुनेछ।


सम्बन्धित समाचार