Logo

२ फागुन,काठमाडौं । हिन्दु धर्मावलम्बीहरूको प्रमुख पर्व महाशिवरात्रि नजिकिँदै गर्दा पशुपतिनाथ मन्दिर परिसरमा तयारी तीव्र पारिएको छ। यस वर्ष आइतबार मनाइने महाशिवरात्रिका अवसरमा भक्तजनलाई सहज र व्यवस्थित रूपमा दर्शन गराउने उद्देश्यले पशुपति क्षेत्र विकास कोष ले आवश्यक व्यवस्थापन मिलाएको जनाएको छ।

कोषका अनुसार मन्दिर परिसरमा सुरक्षा, सरसफाइ, पंक्तिबद्ध दर्शन व्यवस्था, पेयजल तथा स्वास्थ्य सेवासहितका आधारभूत सुविधा विस्तार गरिएको छ। पर्वका बेला लाखौं भक्तजनको उपस्थिति रहने अनुमान गरिएको छ।

महाशिवरात्रिका लागि देशका विभिन्न भागका साथै भारतबाट समेत साधु–सन्तहरू पशुपति आइपुगेका छन्। पर्व सम्पन्न भएपछि परम्पराअनुसार साधु–सन्तलाई दान–दक्षिणासहित बिदाइ गरिने प्रचलन छ।

महाशिवरात्रिको अवसरमा स्वदेश तथा भारतका विभिन्न स्थानबाट भक्तजनहरूको उल्लेख्य आगमन हुने गर्दछ। यसै अवसरमा पशुपति क्षेत्रमा विशेष मेला समेत लाग्नेछ, जसले धार्मिक तथा सांस्कृतिक वातावरणलाई थप उत्सवमय बनाउनेछ।

प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रिमा देशभरका शिवालयहरूमा भक्तजनको भीड लाग्ने गर्दछ। यस दिन शिवालयमा बेलपत्र चढाउने, उपवास बस्ने र रात्रि जागरण गर्ने परम्परा रहेको छ। यसरी पूजा–आराधना गर्दा पुण्य प्राप्त हुने धार्मिक विश्वास रहेको छ।


सम्बन्धित समाचार