३ फागुन, काठमाडौँ । आईसीसी टी ट्वान्टी विश्वकप २०२६ अन्तर्गत नेपालले आज (आइतबार) आफ्नो तेस्रो खेल वेस्ट इन्डिजसँग खेल्दै छ। पहिलो दुई खेलमा पराजय बेहोरेपछि सुपर-८ मा पुग्ने सम्भावना जीवित राख्न नेपाललाई बाँकी दुवै खेल जित्नैपर्ने दबाब सिर्जना भएको छ । मुम्बईस्थित वानखेडे क्रिकेट स्टेडियममा नेपाली समयअनुसार बिहान ११ः१५ बजे खेल सुरु हुनेछ।
सन् २०१४ यता विश्वकपमा जितविहीन रहेको नेपालले यस संस्करणको पहिलो खेलमा इङ्ल्यान्डसँग ४ रन तथा दोस्रो खेलमा इटालीसँग १० विकेटको हार बेहोरेको थियो । विशेषगरी इटालीसँगको अप्रत्याशित फराकिलो हारपछि नेपाल तेस्रो खेलमा सुधारिएको प्रदर्शनको खोजीमा रहेको छ । बाँकी दुई खेलमा फराकिलो अन्तरले जित निकाल्न सके मात्र सुपर-८ को सम्भावना अंकगणितीय रूपमा कायम रहनेछ ।
नेपालका मुख्य प्रशिक्षक स्टुअर्ट ल ले इटालीविरुद्धको प्रदर्शनलाई ‘एकदमै नराम्रो’ भन्दै स्वीकार गरेका छन्। इङ्ल्यान्डसँग प्रतिस्पर्धात्मक खेलपछि खेलाडीमा आवश्यकताभन्दा बढी आत्मविश्वास बढ्दा इटालीलाई सहज रूपमा लिँदा हार व्यहोर्नुपरेको उनको विश्लेषण छ।
वेस्ट इन्डिजविरुद्ध गल्ती सुधारेर मैदान उत्रिने तयारी भएको बताउँदै उनले टोलीको ‘अन एन्ड अफ द फिल्ड इफोर्ट’ निर्णायक हुने बताए। पिच निरीक्षणपछि उनले सतहमा खासै फरक नभएको प्रतिक्रिया दिएका छन्।
वेस्ट इन्डिजका बायाँहाते स्पिनर अकेल होसेन ले आफ्नो टोली विश्वकप जित्ने लक्ष्यसहित आएको बताए। “यहाँ सानो वा ठूलो टिम हुँदैन, जसले राम्रो खेल्छ उसैले जित्छ,” उनले प्रि–म्याच पत्रकार सम्मेलनमा भने।
हाल वेस्ट इन्डिज दुई खेलमा दुई जितसहित अंकतालिकाको शीर्ष स्थानमा छ। उसले स्कटल्यान्डलाई ३५ रन र इङ्ल्यान्डलाई ३० रनले पराजित गरेको थियो। ब्याटिङ र बलिङ दुवै पक्षमा सन्तुलित देखिएको टोली नेपालविरुद्ध जित निकाल्दै सुपर–८ स्थान पक्का गर्न चाहन्छ।
प्रशिक्षक लका अनुसार सामाजिक सञ्जालमा आएको अत्यधिक प्रशंसाले पनि खेलाडीको ध्यान भंग गरेको छ। इङ्ल्यान्डसँगको खेलपछि आएको प्रतिक्रिया खेलाडीले बढी ग्रहण गर्दा कमजोरी सुधारतर्फ पर्याप्त ध्यान नपुगेको उनको भनाइ छ। यद्यपि इटालीसँगको हार मानसिक दबाबका कारण नभएको उनले स्पष्ट पारे।
नेपालका पूर्वकप्तान तथा क्यान सचिव पारस खड्का ले वेस्ट इन्डिजविरुद्ध पूर्ण एकाग्रताका साथ खेल्नुपर्ने बताएका छन्। टेस्ट राष्ट्रलाई हराउने अवसरलाई सदुपयोग गर्न सके अंकतालिकाको समीकरण बदलिन सक्ने उनको विश्वास छ।
यूएईको शारजाहमा भएको ऐतिहासिक टी-ट्वान्टी शृंखलामा नेपालले वेस्ट इन्डिजलाई २–१ ले हराएको अनुभव बटुलेको थियो। यद्यपि हालको विश्वकप टोलीमा त्यस शृंखलाका केही खेलाडी मात्रै रहेका छन्। पछिल्ला वर्षहरूमा ‘ए’ टोली तथा विश्वकप छनोटमार्फत दुवै टोलीबीच प्रतिस्पर्धा हुँदै आएको छ।
आजको खेल नेपालका लागि केवल प्रतिष्ठाको मात्र नभई प्रतियोगितामा यात्रा लम्ब्याउने निर्णायक अवसरका रूपमा हेरिएको छ। सुपर–८ सम्भावना जोगाउन नेपाललाई जित मात्र होइन, प्रभावशाली जित आवश्यक पर्नेछ।
















