३ फागुन,वीरगञ्ज । महाशिवरात्रि पर्वको अवसरमा वीरगञ्जसहित पर्सा जिल्लाका विभिन्न शिवालयहरूमा भक्तजन तथा श्रद्धालुहरूको ठूलो भीड लागेको छ। बिहानैदेखि शिव मन्दिरहरूमा पूजा–आराधना गर्न आउने भक्तजनको घुइँचो देखिएको हो।
वीरगञ्जका प्रमुख शिवालयहरूमा विशेष पूजा, जल अर्पण, बेलपत्र चढाउने तथा रुद्रीपाठजस्ता धार्मिक कार्यक्रम सञ्चालन गरिएको छ। महाशिवरात्रिका अवसरमा मन्दिर परिसर भक्तिमय बनेका छन्। शिवभक्तहरूले “ॐ नमः शिवाय” मन्त्र जप गर्दै भगवान शिवको आराधना गरिरहेका छन्।
ग्रामीण क्षेत्रका शिवालयहरूमा समेत श्रद्धालुहरूको उल्लेख्य उपस्थिति रहेको छ। कतिपय स्थानमा रातभर जाग्राम बसी भजन–कीर्तन तथा शिवचर्चा कार्यक्रम आयोजना गरिएको छ।
महाशिवरात्रि हिन्दू धर्मावलम्बीहरूको महत्वपूर्ण पर्व मानिन्छ। यस दिन भगवान शिवको विशेष पूजा–अर्चना गरी सुख, शान्ति र समृद्धिको कामना गर्ने परम्परा रहिआएको छ। स्थानीय प्रशासनले मन्दिर क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाएको जनाएको छ।
















