८ फागुन, सेढवा (पर्सा)। पर्सा जिल्लाको उत्तरी तथा पश्चिमी ग्रामीण क्षेत्रका किसानहरू यतिबेला चैते धानको बीऊ राख्न व्यस्त देखिएका छन् । पछिल्लो केही वर्षदेखि ‘हर्दिनाथ-१’ जातको धानबाट राम्रो उत्पादन हुन थालेपछि यस क्षेत्रमा चैते धान खेतीतर्फ किसानहरूको आकर्षण ह्वात्तै बढेको हो ।
जिल्लाको ठोरी, जिराभवानी, जगरनाथपुर, पटेर्वासुगौली गाउँपालिका सहित पर्सागढी नगरपालिका र वीरगंज महानगरपालिकाका उत्तरी वडाहरूमा अहिले ब्याड राख्ने काम तीव्र गतिमा भइरहेको छ। किसानहरूले बीऊ छर्नुअघि ब्याडका लागि सिँचाइ गर्ने र झारपात गोडमेल गर्ने जस्ता तयारीलाई अन्तिम रूप दिइरहेका छन्।
जिराभवानी गाउँपालिका-१ शान्तिनगरका किसान रविमोहन सापकोटाले डेढ बिघा क्षेत्रफलका लागि ब्याड तयार पारेको बताए। “एउटै जमिनबाट दुई बाली धान र थप तोरी वा सुर्ती जस्ता नगदे बाली लिन सकिने भएकाले यो प्रणाली लाभदायक छ,” उनले भने, “यही खेतीबाटै घरपरिवारको खाद्यान्नदेखि शिक्षा र उपचार खर्चसम्म धान्नुपर्ने बाध्यता छ।”
सिँचाइको पहुँच पुगेका क्षेत्रमा बहुबाली प्रणाली फस्टाउँदै गएको छ। ठोरी–५ गडुवालाईनका किसान प्रेम लामाका अनुसार भूमिगत सिँचाइ (बोरिङ, दमकल र वाटर पम्प) को सहज उपलब्धताले गर्दा तोरी र सुर्ती भित्र्याए लगत्तै चैते धान लगाउन सजिलो भएको हो। केही ठाउँमा बेमौसमी वर्षाले तोरीमा क्षति पुर्याएपछि लगाइएको गहुँ ढिलो पाक्ने भएकाले त्यस्ता क्षेत्रमा भने एक सातापछि मात्र बीऊ राखिने उनले जानकारी दिए।
स्थानीय सरकारले किसानलाई प्रोत्साहित गर्न उन्नत जातको बीऊमा ५० प्रतिशत अनुदान उपलब्ध गराउँदै आएका छन्। पटेर्वासुगौली गाउँपालिका कृषि शाखाका अनुसार हालसम्म करिब साढे आठ मेट्रिक टन हर्दिनाथ-१ को बीऊ अनुदानमा वितरण भइसकेको छ। जगरनाथपुर र सखुवाप्रसौनी गाउँपालिकामा पनि बीऊका लागि किसानहरूको आवेदन संकलन भइरहेको छ ।
सखुवाप्रसौनी-१ का सुरेन्द्र महतो थारूका अनुसार यस क्षेत्रको ३० प्रतिशतभन्दा बढी जमिनमा चैते धान लगाउने गरिन्छ। फागुन पहिलो साता बीऊ राखेर चैत पहिलो साता रोपाइँ सुरु हुने यो धान करिब ९० दिनमा पाक्छ । जेठ अन्तिम सातासम्म भित्र्याउन सकिने यस जातको उत्पादकत्व प्रति कठ्ठा ५ देखि ८ मन (साढे ३ क्विन्टलसम्म) रहने गरेको किसानहरूको अनुभव छ।
नेपालको ‘हर्दिनाथ-१’ जातको लोकप्रियता नेपाली सीमामा मात्र सीमित छैन। छिमेकी भारतको पश्चिमी चम्पारण जिल्लाका केही क्षेत्रमा समेत यो जातको धान खेती विस्तार हुन थालेको स्थानीय बताउँछन् । कम समयमा पाक्ने, स्वादिलो भात हुने र उत्पादन पनि राम्रो दिने भएकाले यसले यस क्षेत्रको खाद्य सुरक्षामा ठूलो टेवा पुर्याएको देखिन्छ।

















