८ फागुन,वीरगञ्ज । सन् २०२८ मा अष्ट्रेलिया र न्यूजिल्याण्ड मा संयुक्त रूपमा आयोजना हुने आईसीसी टी–२० विश्वकप क्रिकेट खेल्ने १२ टोलीको टुंगो लागेको छ।
भारत र श्रीलंकामा जारी टी–२० विश्वकपको सुपर–८ चरणको टुंगो लागेसँगै दुई वर्षपछि हुने अर्को विश्वकपमा सिधै छनोट हुने टोलीहरू निश्चित भएका हुन्। आयोजक राष्ट्रका रूपमा अष्ट्रेलिया र न्यूजिल्याण्ड स्वतः विश्वकपमा सहभागी हुनेछन्।
यस्तै, सुपर–८ चरणमा प्रवेश गरेका भारत, पाकिस्तान, श्रीलंका, इंग्ल्याण्ड, दक्षिण अफ्रिका, जिम्बावे र वेस्ट इन्डिज ले पनि सन् २०२८ को विश्वकपमा स्थान सुरक्षित गरेका छन्। सुपर–८ मा पुगेको न्यूजिल्याण्ड आयोजक भएकै आधारमा सहभागी हुनेछ।
त्यसबाहेक सुपर–८ बाहिर रहेका टोलीहरूमध्ये हालको टी–२० अन्तर्राष्ट्रिय वरीयतामा माथिल्लो स्थानमा रहेका तीन राष्ट्रले पनि सिधै विश्वकप खेल्ने अवसर पाउनेछन्। बाँकी आठ टोली भने क्षेत्रीय छनोट प्रतियोगितामार्फत विश्वकपमा प्रवेश गर्नेछन्।
यससँगै २०२८ को टी–२० विश्वकपका लागि प्रारम्भिक रूपमा १२ टोलीको सुनिश्चितता भएको छ भने अन्य स्थानका लागि छनोट प्रक्रिया आगामी वर्षहरूमा सञ्चालन गरिनेछ।

















