प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

१५ फाल्गुण, काठमाडौं । पछिल्लो समय नेपाली बजारमा लगातार उकालो लागिरहेको सुनको मूल्यमा शुक्रबार सामान्य गिरावट आएको छ ।

विगत चार दिनको अवधिमा मात्रै तोलामा १० हजार ७ सय रुपैयाँले वृद्धि भएको सुनको भाउ आज भने प्रतितोला ५ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला तीन लाख १५ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन आज तीन लाख १४ हजार ९ सय रुपैयाँ कायम भएको छ । आइतबारदेखि मंगलबारसम्म लगातार बढेको सुनको मूल्य बुधबार स्थिर रहे पनि बिहीबार पुनः ६ सय रुपैयाँले बढेको थियो, जसले आम उपभोक्ता र व्यवसायीमाझ ठूलो हलचल पैदा गरेको थियो ।

यसअघि गत माघ १५ गते नेपाली सुन बजारको इतिहासमै एकैदिन तोलामा २० हजार ५ सय रुपैयाँको अप्रत्याशित वृद्धि हुँदै मूल्य तीन लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको थियो, जुन अहिलेसम्मकै उच्च बिन्दु हो । सुनको मूल्यमा उतारचढाव आइरहँदा आज चाँदीको भाउमा भने सामान्य बढोत्तरी देखिएको छ। महासंघका अनुसार चाँदीको मूल्य आज तोलामा १५ रुपैयाँले बढेर प्रति तोला पाँच हजार ७ सय ४० रुपैयाँ पुगेको छ ।

सुनको भाउमा केही राहत महसुस भए पनि चाँदीको मूल्यले भने ऐतिहासिक उतारचढावको श्रृंखलालाई निरन्तरता दिएको छ । माघ १५ गते चाँदीको मूल्य हालसम्मकै उच्च बिन्दु सात हजार ५ सय ५ रुपैयाँ पुगेको थियो भने लगत्तै माघ १८ गते १५ सय ६५ रुपैयाँको कीर्तिमानी गिरावट पनि दर्ता भएको थियो । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारको प्रभाव र स्थानीय मागका कारण बहुमूल्य धातुको बजारमा तीव्र अस्थिरता देखिएको व्यवसायीहरूको विश्लेषण छ ।


सम्बन्धित समाचार