१६ फागुन, काठमाडौँ । विभिन्न अन्तर्राष्ट्रिय विमानस्थलहरूले हवाई उडानमा प्रतिबन्ध लगाएका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज हुने भनिएका महत्वपूर्ण उडानहरू रद्द भएका छन्। विशेषगरी खाडी मुलुकका प्रमुख सात गन्तव्यमा उडान रोकिएपछि नेपालबाट हुने हवाई यातायात प्रभावित भएको हो।
विमानस्थलका महाप्रबन्धक टेकनाथ सिटौलाका अनुसार सारजहा, दोहा, दुबई, कुबेत सिटी, अबुधाबी, कतार र दमाम विमानस्थलमा हवाई उडानमा प्रतिबन्ध लगाइएको छ। सोही कारणले गर्दा आज दिउँसो र राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ती गन्तव्यका लागि तय गरिएका सबै उडानहरू रद्द गरिएको उहाँले जानकारी दिनुभयो।
सम्बन्धित देशका विमानस्थलहरूले नै उडानमा प्रतिबन्ध लगाएकाले हामीले यहाँबाट हुने दिउँसो र रातिका उडानहरू रोक्नुपरेको हो महाप्रबन्धक सिटौलाले भन्नुभयो, उडानहरू कहिलेदेखि पुनः सञ्चालन हुन्छन् भन्नेबारे अर्को निर्णय नभएसम्म केही भन्न सकिने अवस्था छैन। यसबारे जानकारी प्राप्त हुनासाथ सार्वजनिक गरिनेछ।
उडान रद्द भएपछि यात्रुहरूलाई पर्न सक्ने असुविधालाई मध्यनजर गर्दै विमानस्थल कार्यालयले विशेष आग्रह गरेको छ। आफ्नो उडानको निश्चितता नभई विमानस्थल नआउन र घरबाट निस्कनुभन्दा अगाडि अनिवार्य रूपमा सम्बन्धित वायुसेवा कम्पनी (Airlines) मा सम्पर्क गरेर मात्र आउन कार्यालयले सूचित गरेको छ।
यो अचानकको प्रतिबन्धले वैदेशिक रोजगारी र अन्य प्रयोजनका लागि ती मुलुक जान लागेका सयौँ यात्रुहरू मर्कामा परेका छन्।

















