प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

२० फागुन, वीरगञ्ज । निर्वाचनको पूर्वसन्ध्यामा शंकास्पद वस्तुसहित नियन्त्रणमा लिइएका पर्सा–२ का प्रतिनिधि सभा सदस्य उम्मेदवार मनोज चौधरीलाई जिल्ला प्रहरी कार्यालय पर्साले सार्वजनिक गरेको छ ।

बुधबार बिहान आयोजित पत्रकार सम्मेलनमा पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुदिपराज पाठकले नेकपाका उम्मेदवार चौधरी सवार गाडीमा ‘होक्स बम’ (नक्कली बम) फेला परेको पुष्टि गर्दै उनीसहित चार जनालाई नियन्त्रणमा लिएको जानकारी दिए ।

प्रहरीका अनुसार पर्सागढी नगरपालिकाको बढनिहारमा नियमित सुरक्षा जाँचका क्रममा उम्मेदवार चौधरी सवार बा १० च १२५० नम्बरको गाडीबाट उक्त शंकास्पद वस्तु बरामद भएको थियो ।

“उम्मेदवार सवार गाडीमा शंकास्पद वस्तु भेटिएपछि हामीले तत्काल नियन्त्रणमा लिएका थियौँ, जसलाई आज बिहान नेपाली सेनाको टोलीमार्फत सुरक्षित रूपमा डिस्पोज गराइसकिएको छ,” प्रहरी प्रमुख पाठकले भने । पक्राउ पर्नेमा उम्मेदवार चौधरीका साथै गाडीमा सवार अन्य तीन जना रहेका छन्, यद्यपि अनुसन्धान प्रभावित हुन सक्ने भन्दै प्रहरीले अन्यको विस्तृत विवरण भने हाललाई गोप्य राखेको छ।

उम्मेदवार चौधरीमाथि निर्वाचनलाई प्रभावित पार्न खोजेको र त्रास फैलाएको आरोपमा गम्भीर कानुनी प्रक्रिया अगाडि बढाइएको छ । प्रहरीका अनुसार उनीविरुद्ध निर्वाचन ऐन २०७३, मुलुकी फौजदारी संहिता अन्तर्गत विस्फोटक पदार्थ सम्बन्धी कसुर र सार्वजनिक शान्ति विरुद्धको कसुर गरी तीनवटा छुट्टाछुट्टै मुद्दामा अनुसन्धान प्रक्रिया अघि बढाइएको छ । निर्वाचनको मौन अवधिमा उम्मेदवार नै शंकास्पद वस्तुसहित पक्राउ परेपछि पर्सामा सुरक्षा सतर्कता थप कडा पारिएको छ ।

यो पनि :

नेकपा उम्मेदवार मनोज चौधरी चढेको गाडीबाट शंकास्पद वस्तु फेला,चौधरीसहित ५ जना प्रहरी नियन्त्रणमा


सम्बन्धित समाचार