प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

२१ फागुन,वीरगञ्ज ।रौतहटको गौरस्थित कारागार कार्यालयमा स्थापना गरिएको अस्थायी मतदान केन्द्रमा मतदान प्रक्रिया सफलतापूर्वक सम्पन्न भएको छ। कारागारमा रहेका कैदीबन्दीमध्ये मतदाता सूचीमा नाम दर्ता भएका व्यक्तिले आफ्नो मताधिकार प्रयोग गरेका हुन्।

कारागारमा हाल २०८ कैदीबन्दी छन्, जसमा १९९ पुरुष र ९ महिला छन्। तीमध्ये ६३ जना पुरुष कैदीबन्दी मतदाता सूचीमा रहेका थिए। तर दुई जना भर्खरै कैदमुक्त भएकाले अस्थायी मतदान केन्द्रबाट कुल ६१ जनाले मात्र मतदान गरेका छन्। मतदान अधिकृत सावित्रा थापाले यसबारे जानकारी दिइन्।

मतदानका लागि उक्त केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत र कार्यालय सहयोगी गरी तीन जना कर्मचारी खटिएका थिए। मतदान अधिकृत थापाले पनि आफ्नो मत त्यहींबाट खसालिन्।

त्यस्तै, मतदान कर्मचारी बाहेक कारागारका कर्मचारी, निर्वाचनमा खटिएका प्रहरी तथा नेपाली सेनासहित २२ जनाले पनि सोही केन्द्रबाट मतदान गरेका छन्।

मतदान प्रक्रिया सम्पन्न भइसकेको भए पनि मतपेटिका सिल गर्ने काम साँझ ५ बजेपछि मात्र गरिनेछ भन्ने जानकारी मतदान अधिकृत थापाले दिइन्।


सम्बन्धित समाचार