२१ फागुन,काठमाडौं । दोलखाको तामाकोशी गाउँपालिका–४ मालुस्थित मतदान केन्द्रमा रोकिएको मतदान केहीबेरअघि पुनः सुरु भएको छ। प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेका अनुसार, गोल्मेश्वर मावि मतदान केन्द्रमा दिउँसो साढे ४ बजेपछि मतदान सुरु भएको हो।
स्थानीय प्रशासनले मतदाता व्यवस्थापनका लागि माइकिङ गरेर तितरबितर भएका मतदातालाई मतदान केन्द्रमा बोलाएको छ।
सो मतदान केन्द्रमा करिब ३ सय मत खसेपछि केही विवाद भएको थियो, जसले अस्थायी रुपमा मतदान प्रक्रिया रोकिएको थियो। मतदान पुनः सुरु भएसँगै शान्तिपूर्ण ढंगले मतदान जारी छ।
प्रमुख जिल्ला अधिकारी घिमिरेले मतदाता र कर्मचारी दुवैलाई संयमित रहन आग्रह गर्दै, निर्वाचन प्रक्रिया सुचारु गर्न प्रशासनले सबै आवश्यक कदम चालिरहेको जानकारी दिएका छन्।

















