Logo

२२ फागुन, बारा । बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत बारा निर्वाचन क्षेत्र नम्बर ३ को मतगणना कार्य तीव्र गतिमा अघि बढेको छ । कलैया उपमहानगरपालिका वडा नम्बर १ को मतगणना सकिँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अरविन्द साहले आफ्ना निकटतम प्रतिद्वन्द्वीभन्दा ठूलो मतान्तरले अग्रता लिएका छन् ।

निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार, अरविन्द साहले २ हजार १ सय ६० मत प्राप्त गर्दै आफ्नो अग्रतालाई मजबुत बनाएका छन्। उनलाई पछ्याइरहेका जनता समाजवादी पार्टी (जसपा) नेपालका रामबाबु कुमार यादवले ३ सय १० मत प्राप्त गरेका छन्। साह र यादवबीचको मतान्तर १ हजार ८ सय ५० रहेको छ।

कलैया उपमहानगरपालिका-१ मा खसेको कुल ३ हजार १८२ मत गणना गर्दा प्रत्यक्षतर्फको बदर मत संख्या केही उच्च देखिएको छ । निर्वाचन कार्यालयका अनुसार कुल ३ हजार १ सय ८२ मत खसेको थियो । प्रत्यक्षतर्फ १ सय ६४ मत  बदर भएको छ भने समानुपातिकतर्फ ११ मत बदर भएको छ ।

गणनाको प्रारम्भिक रुझान हेर्दा यस क्षेत्रमा स्थापित पुराना दलहरू नेपाली कांग्रेस र नेकपा एमालेका हेभीवेट उम्मेदवारहरू तुलनात्मक रूपमा निकै पछाडि देखिएका छन् । नेपाली कांग्रेसका केन्द्रीय नेता फरमुल्लाह मंसुर २ सय १ मतका साथ तेस्रो स्थानमा छन् भने एमालेकी ज्वाला कुमारी साहले ६५ मत मात्र प्राप्त गरेकी छन् । जनमत पार्टीका प्रमोद गुप्ता पनि १ सय ७८ मतका साथ चौथो स्थानमा संघर्षरत छन् ।

अहिले अन्य वडाहरूको मतपेटिका खोल्ने तयारी भइरहेको छ । रास्वपाको यो सुरुवाती अग्रताले बारामा पनि ‘घण्टी’ को लहर बलियो रहेको संकेत गरेको छ ।


सम्बन्धित समाचार