२५ फाल्गुण, काठमाडौं । नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) र खेलाडी संघबीच चुलिएको विवादले ‘ए डिभिजन लिग’ को भविष्य अन्योलमा परेको छ ।
नेपाल फुटबल खेलाडी संघले आफ्ना मागहरू पुरा नभएको भन्दै आइतबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा अप्रत्याशित रूपमा तालाबन्दी गरेपछि एन्फाले एक विज्ञप्ति जारी गर्दै निर्धारित समयमा लिग सञ्चालन गर्न असम्भव रहेको जनाएको हो। कुनै पूर्वजानकारी र संवादबिना गरिएको यस तालाबन्दीले संघको दैनिक प्रशासनिक गतिविधिहरू पूर्ण रूपमा अवरुद्ध भएको र यसले फुटबलको कार्यतालिकालाई नै प्रभावित पारेको एन्फाको तर्क छ ।
एन्फाले क्लबहरू र खेलाडी संघबीच भएको त्रिपक्षीय संवाद र समन्वयका आधारमा राष्ट्रिय लिग सम्पन्न भएको एक महिनापछि ‘ए डिभिजन लिग’ सुरु गर्ने प्रतिवद्धता जनाएको थियो । तर, मुख्यालयमै ताला लागेपछि प्राविधिक र व्यवस्थापकीय तयारीहरू रोकिएकाले कार्यतालिका कार्यान्वयन गर्न कठिन भएको संघले उल्लेख गरेको छ । खेलाडी संघले राखेका मागहरूका सम्बन्धमा स्पष्टीकरण दिँदै एन्फाले अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको टिकट बिक्रीबाट सङ्कलित निश्चित रकम खेलाडी कल्याण कोषमा जम्मा गर्ने निर्णयमा आफू अडिग रहेको र वर्तमान कार्यसमितिले घोषणा गरेका पुरस्कारहरूको भुक्तानी भइसकेको दाबी गरेको छ ।
अघिल्ला कार्यसमितिहरूले निर्णय गरेका तर भुक्तानी हुन बाँकी रहेका पुरस्कार रकमका बारेमा पनि एन्फाले आफ्नो धारणा सार्वजनिक गरेको छ । आन्तरिक स्रोतको अभावका कारण ती रकमहरू एकैपटक उपलब्ध गराउन नसकिएको स्वीकार गर्दै संघले स्रोतको उपलब्धताका आधारमा क्रमिक रूपमा भुक्तानी गर्दै जाने प्रतिवद्धता व्यक्त गरेको छ । नेतृत्व र खेलाडीबीचको यो टकरावले नेपाली फुटबलको प्रतिष्ठित घरेलु लिग संकटमा परेपछि खेल प्रेमी र सरोकारवालाहरूमा आक्रोश र चिन्ता बढेको छ ।

















