Logo

३० फागुन,वीरगञ्ज । प्रतिष्ठान स्तरमा गुनासो व्यवस्थापन संयन्त्र सञ्चालन समितिका सदस्यहरूका लागि क्षमता अभिवृद्धिसम्बन्धी एक दिने तालिम वीरगञ्जमा सम्पन्न भएको छ।

महिला सशक्तिकरण, समृद्ध नेपाल कार्यक्रम अन्तर्गत आयोजित उक्त तालिममा मधेश प्रदेशका विभिन्न उद्योगमा कार्यरत गुनासो सुनुवाइ संयन्त्रका सदस्यहरूको सहभागिता रहेको थियो।

तालिमको उद्घाटन गर्दै वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमले कार्यस्थललाई सुरक्षित, मर्यादित र समानतामूलक बनाउन गुनासो व्यवस्थापन संयन्त्र प्रभावकारी रूपमा सञ्चालन हुनुपर्ने आवश्यकता औँल्याए। उनले उद्योग–व्यवसायमा कार्यरत श्रमिकहरूको अधिकार संरक्षण तथा कार्यस्थलमा उत्पन्न हुने विभिन्न समस्याको समाधानका लागि यस्ता तालिम उपयोगी हुने बताए।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका सहायक निर्देशक हरि पौडेलले कार्यक्रमको उद्देश्य तथा सञ्चालन प्रक्रियाबारे प्रस्तुति दिएका थिए। उनका अनुसार यूरोपियन युनियनको आर्थिक सहयोग तथा संयुक्त राष्ट्रसंघ अन्तर्गतका चार संस्थामध्ये अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) सँगको सहकार्यमा नेपाल उद्योग वाणिज्य महासंघद्वारा सञ्चालित महिला सशक्तिकरण, समृद्ध नेपाल कार्यक्रम अन्तर्गत उक्त तालिम आयोजना गरिएको हो।

कार्यक्रम संयोजक डा. वासुदेव लाल कर्णका अनुसार मधेश प्रदेशका पाँच वटा उद्योगका गुनासो सुनुवाइ संयन्त्रका सदस्यहरूलाई कार्यस्थलमा हुने यौनजन्य हिंसा तथा दुव्र्यवहारको सम्बोधन गर्ने विषयमा प्रयोगात्मक तथा व्यवहारिक तालिम प्रदान गरिएको थियो।

तालिममा अधिवक्ता शर्मिला श्रेष्ठले प्रशिक्षण दिँदै कार्यस्थलमा हुने लैङ्गिक हिंसा न्यूनीकरण, गुनासो व्यवस्थापन संयन्त्रको प्रभावकारी सञ्चालन तथा सुरक्षित कार्य वातावरण निर्माणका विषयमा विस्तृत जानकारी दिएकी थिइन्। तालिमको सहजीकरण कार्यक्रम संयोजक डा. वासुदेव लाल कर्णले गरेका थिए।


सम्बन्धित समाचार