Logo

२ चैत्र, काठमाडौं । सिटिजन्स बैंकको विराटनगरस्थित कञ्चनबारी शाखामा झण्डै ५ करोड रुपैयाँ बराबरको ठूलो वित्तीय हिनामिना सार्वजनिक भएको छ ।

आफ्नै कर्मचारीहरूको मिलेमतोमा ४ करोड ९१ लाख रुपैयाँ घोटाला भएको तथ्य बैंकको आन्तरिक लेखा परीक्षण (अडिट) बाट खुलेको हो । बैंक प्रशासनले सो घटनामा संलग्न रहेको आरोपमा ५ जना कर्मचारीलाई तत्कालै निलम्बन गरी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय मोरङमा जाहेरी दिएको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धान र बैंक स्रोतका अनुसार, उक्त शाखामा कार्यरत कर्मचारी रोजी कँडेलको नेतृत्वमा यो घोटाला भएको देखिएको छ । कर्मचारीहरूले बैंकका ग्राहकहरूले मुद्दती निक्षेप (फिक्स डिपोजिट) मा राखेको रकमलाई नै धितो देखाएर नक्कली कर्जा फाइलहरू खडा गरी रकम निकाल्ने गरेको पाइएको छ । यसरी वास्तविक निक्षेपकर्तालाई जानकारी नै नदिई उनीहरूको बचतमाथि नक्कली ऋण खडा गरेर करोडौँ रकम हिनामिना गरिएको खुलेको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी कविद कट्टुवालले बैंकबाट उजुरी प्राप्त भएको पुष्टि गर्दै घटनाको गम्भीरताका साथ छानबिन भइरहेको जानकारी दिनुभएको छ । प्रहरीले बैंकबाट आवश्यक कागजातहरू माग गरी हिनामिनामा संलग्न व्यक्तिहरूको भूमिका र रकमको अन्तिम गन्तव्यबारे सूक्ष्म अनुसन्धान थालेको छ । बैंक प्रशासनले भने हिनामिना भएको रकम असुलउपर गर्न र दोषीलाई कडा कानुनी कारबाही गराउन कुनै कसर बाँकी नराख्ने बताएको छ ।


सम्बन्धित समाचार
भर्खरै