Logo

२ चैत्र, काठमाडौं । इरान र अमेरिका–इजरायलबीच जारी द्वन्द्वका कारण विश्व ऊर्जा बजारमा गम्भीर संकट उत्पन्न भएको छ ।

कच्चा तेल आपूर्तिका लागि विश्वकै सबैभन्दा महत्वपूर्ण मानिने ‘स्ट्रेट अफ होर्मुज’ जलमार्ग इरानले प्रभावकारी रूपमा बन्द गरेपछि अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य एकाएक ४० देखि ५० प्रतिशतसम्म उक्लिएको हो । युद्ध तेस्रो हप्तामा प्रवेश गरिरहँदा कच्चा तेलको मूल्य सोमबार प्रतिब्यारेल करिब १०० डलरको आसपास पुगेको छ । इरानले यस जलमार्गमा नाकाबन्दी लगाएपछि खाडी क्षेत्रबाट हुने तेल आपूर्ति ठप्प प्रायः बनेको छ, जसको प्रत्यक्ष असर विश्वभरका उपभोक्ताको भान्सा र यातायातमा पर्न थालेको छ ।

बढ्दो तनावका बीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रणनीतिक सक्रियता बढाएका छन् । उनले सोमबार चीनसहित नेटोका साझेदार राष्ट्रहरूलाई जलमार्ग पुनः सञ्चालनमा ल्याउन सैन्य सहयोगको अपिल गरेका छन् । ट्रम्पले विशेषगरी चीन, बेलायत, फ्रान्स, जापान र दक्षिण कोरियालाई आफ्ना तेल ट्याङ्करहरूको सुरक्षाका लागि युद्धपोत पठाउन आग्रह गरेका हुन् ।

उनले चीनलाई चेतावनी दिँदै यदि जलमार्ग खुलाउन सहयोग नगरे चिनियाँ राष्ट्रपति सी जिनपिङसँग यसै महिना हुने भनिएको शिखर सम्मेलन नै स्थगित हुन सक्ने बताएका छन् । यद्यपि, अस्ट्रेलिया र जापान जस्ता राष्ट्रहरूले तत्कालै सैनिक तैनाथ गर्ने अमेरिकी प्रस्तावलाई अस्वीकार गरिसकेका छन् ।

द्वन्द्वमा प्रत्यक्ष सहभागी नहुन कडा चेतावनी

यता, इरानले भने यो द्वन्द्वमा अन्य राष्ट्रहरूलाई प्रत्यक्ष सहभागी नहुन कडा चेतावनी दिएको छ । इरानी विदेशमन्त्री अब्बास अराघचीले क्षेत्रीय सुरक्षाका नाममा बढ्दो अमेरिकी सैन्य उपस्थितिले समस्या झनै जटिल बनाएको आरोप लगाएका छन् । युद्धको प्रभाव इरान, इजरायल र लेबनानदेखि खाडीका अन्य क्षेत्रसम्म फैलिएको छ । इरानको रिभोलुसनरी गार्ड्सले हालसम्म अमेरिका र इजरायलका लक्ष्यहरूमा ७०० मिसाइल र ३,६०० ड्रोन प्रहार गरेको दाबी गरेको छ। यसैक्रममा दुबई विमानस्थल नजिकै ड्रोन आक्रमणपछि भएको आगलागीले उडानहरू प्रभावित भएका छन् भने साउदी अरेबियाले ६० भन्दा बढी ड्रोन नष्ट गरेको जनाएको छ ।

४० करोड ब्यारेल तेल बजारमा पठाउने

इन्धनको यो चरम संकट टार्न अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले आफ्ना सदस्य राष्ट्रहरूको रणनीतिक भण्डारबाट ४० करोड ब्यारेल तेल बजारमा पठाउने निर्णय गरेको छ । तेलमा ९५ प्रतिशत निर्भर रहेको जापानले आफ्नो भण्डार रित्तिँदै गएको भन्दै संकटकालीन सूचना जारी गरेको छ ।

भारतमा आयात अवरुद्ध हुँदा रेस्टुरेन्टहरूले ग्यास बचत गर्न मेनु नै परिवर्तन गर्न थालेका छन् भने अस्ट्रेलियामा सर्वसाधारणलाई इन्धन अभावको त्रासले ‘प्यानिक बाइंग’ नगर्न आग्रह गरिएको छ । इरानभित्र भने ३२ लाख मानिस विस्थापित भएका छन् र सञ्चार सेवाहरू इन्ट्रानेटमा मात्र सीमित पारिएको छ ।


सम्बन्धित समाचार