२ चैत्र, काठमाडौं । मध्यपूर्वमा इरान, इजरायल र अमेरिकाबीच बढ्दो सैन्य तनावका बाबजुद फागुन महिनामा मात्रै झण्डै ५३ हजार नेपाली रोजगारीका लागि विदेश पलायन भएका छन् ।
वैदेशिक रोजगार विभागको पछिल्लो तथ्यांकअनुसार फागुनमा कुल ५२ हजार ९ सय ४४ जनाले श्रम स्वीकृति लिएका छन्, जसमा ४६ हजार ४ सय ५२ पुरुष र ६ हजार ३ सय ९२ महिला रहेका छन् । फागुनको दोस्रो सातासम्म श्रम स्वीकृति लिने प्रक्रिया सुचारु रहेकाले विदेसिनेको संख्या उल्लेख्य देखिएको हो, यद्यपि अघिल्ला महिनाहरूको तुलनामा यो संख्यामा केही गिरावट भने आएको छ ।
क्षेत्रीय सुरक्षामा आएको गम्भीर संकटलाई मध्यनजर गर्दै सरकारले हालै इजरायल, खाडी राष्ट्रहरू र टर्कीसहित ११ वटा देशमा श्रम स्वीकृति दिन स्थगन गरेको छ । फागुन १७ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार साउदी अरेबिया, यूएई, कतार, कुवेत, बहराइन, ओमान, इराक, यमन, जोर्डन, लेबनान, टर्की र इजरायलका लागि नयाँ श्रम स्वीकृति र नवीकरण दुवै रोकिएको हो । इरानले अमेरिकी सैन्य बेस क्याम्पहरूमा मिसाइल र ड्रोन आक्रमण तीव्र पारेपछि ती देशमा रहेका नेपालीहरूको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर सरकारले यस्तो कदम चालेको हो ।
गत फागुन महिनामा नेपालीहरूको प्रमुख गन्तव्यका रूपमा मलेसिया देखिएको छ, जहाँ १२ हजार ६ सय १ जना गएका छन् । त्यसैगरी यूएईमा ११ हजार ४ सय ९२, कतारमा ६ हजार ७ सय ७५ र साउदी अरेबियामा ६ हजार २ सय २५ जनाले श्रम स्वीकृति लिएर उडेका छन् । माघ महिनामा ७० हजारभन्दा बढी नेपाली विदेसिएको तथ्यांक रहेकोमा फागुनमा यो दर घटेर ५२ हजारमा खुम्चिएको छ ।
सरकारले अर्को सूचना जारी नभएसम्म द्वन्द्वग्रस्त क्षेत्रमा श्रमिक पठाउन रोक लगाएकाले आगामी महिनाहरूमा वैदेशिक रोजगारीमा जानेको संख्या अझै घट्न सक्ने अनुमान गरिएको छ ।

















