Logo

२ चैत्र, काठमाडौं । नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशिलदेव सुवेदीले जीवन बीमा गर्दा कम्पनीको वित्तीय सूचकहरूलाई मुख्य आधार बनाउनुपर्नेमा जोड दिएका छन् ।

नेपाल राष्ट्र बैंकले ग्लोबल मनी विकको अवसरमा आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै उनले बीमा भविष्यको जोखिम व्यवस्थापन मात्र नभई एक प्रकारको लगानी समेत भएकाले कम्पनी छनोट गर्दा विशेष सावधानी अपनाउनुपर्ने बताए । भविष्यमा लगानी फिर्ता गर्न सक्ने क्षमता भएका र बलियो आर्थिक पृष्ठभूमि भएका कम्पनीहरू छान्नु नै बीमितको हितमा हुने उनको तर्क छ ।

निर्देशक सुवेदीका अनुसार निर्जीवन बीमा गर्दा भविष्यमा हुनसक्ने क्षतिको सहजै शोधभर्ना (कभर) गर्न सक्ने कम्पनी रोज्नुपर्छ भने जीवन बीमाको हकमा भविष्यमा राम्रो बोनससहित रकम फिर्ता गर्न सक्ने कम्पनी प्राथमिकतामा पर्नुपर्छ । पछिल्लो समय बीमा गर्ने कम्पनी कसरी छान्ने भन्ने अन्योल सर्वसाधारणमा देखिने गरेको भन्दै उनले वित्तीय विवरण र सूचकहरू राम्रो भएका कम्पनीले मात्रै बीमितको विश्वास जित्न सक्ने स्पष्ट पारे । बीमालाई केवल प्रिमियम तिर्ने दायित्वका रूपमा भन्दा पनि सुरक्षित भविष्यको आधारका रूपमा बुझ्न उनले आग्रह गरे ।

अहिलेका धेरैजसो युवाहरूले बीमालाई अनावश्यक खर्चका रूपमा हेर्ने गरेको प्रति संकेत गर्दै सुवेदीले यसलाई खर्च नभई भविष्यको बचत र सुरक्षाका रूपमा हेर्नुपर्ने बताए । निर्जीवन बीमाले क्षति भएपछि आर्थिक राहत दिने भए पनि जीवन बीमाले भने पोलिसीको अवधि सकिएपछि लगानी गरिएको रकम बोनससहित फिर्ता दिने भएकाले यसको दोहोरो फाइदा रहेको उनको भनाइ छ । पैसाको बचत र जोखिमको न्यूनीकरण गर्ने भएकाले बीमाले भविष्यमा आउन सक्ने जस्तोसुकै आर्थिक समस्याबाट जोगिन ठुलो भूमिका खेल्ने उनले उल्लेख गरे ।


सम्बन्धित समाचार