Logo

२ चैत्र, काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहमाथि गम्भीर आरोप लगाउने वरिष्ठ डिभिजनल वन अधिकृत कृष्णदत्त भट्टलाई प्रहरीले पक्राउ गरेको छ ।

केही दिनअघि सञ्चारमाध्यममा अन्तर्वार्ता दिँदै मुख्यमन्त्री शाहले आफूसँग ५ लाख रुपैयाँ घुस मागेको र रकम नदिएकै कारण पूर्वाग्रही भएर सरुवा गरिदिएको दाबी गरेपछि भट्ट विवादमा तानिएका थिए । सोही अभिव्यक्तिका आधारमा मुख्यमन्त्रीका स्वकीय सचिव प्रयागराज खनालले दिएको विद्युतीय अपराधसम्बन्धी जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीले भट्टलाई नियन्त्रणमा लिएको हो ।

मुख्यमन्त्री शाहले आफूमाथि लगाइएको आरोप निराधार, कपोलकल्पित र चरित्रहत्या गर्ने मनसायले अभिप्रेरित रहेको भन्दै पत्रकार सम्मेलनमार्फत खण्डन गरिसकेका छन् । हाल उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी समेत सम्हालिरहेका मुख्यमन्त्रीले कर्मचारीले विना प्रमाण सार्वजनिक रूपमा जथाभाबी बोल्नु निजामती आचरणविपरीत भएको भन्दै कारबाहीको माग गरेका थिए । मन्त्रालयका सचिव दीर्घनारायण कोइरालाले पनि भट्टलाई २४ घण्टे स्पष्टीकरण सोध्दै उनको अभिव्यक्तिले सरकारको प्रतिष्ठामा आँच पुर्‍याएको ठहर गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाका अनुसार भट्टमाथि साइबर अपराधअन्तर्गतको कसुरमा अनुसन्धान सुरु गरिएको छ। यसअघि पनि भट्टले विभिन्न व्यक्तिहरूमाथि विवादास्पद आरोप लगाउने गरेको मन्त्रालयको दाबी छ ।

कर्मचारी र सरकारको नेतृत्वबीचको यो टकरावले सुदूरपश्चिमको प्रशासनिक क्षेत्रमा नयाँ तरंग पैदा गरिदिएको छ । प्रहरीले नियन्त्रणमा लिएका भट्टलाई हिरासतमा राखेर उनको दाबीको सत्यता र विद्युतीय सञ्चार माध्यमबाट फैलाइएको भ्रमबारे विस्तृत छानबिन अघि बढाएको छ ।


सम्बन्धित समाचार