२ चैत्र, काठमाडौँ । काठमाडौँको नागार्जुन नगरपालिका८ भिमढुङ्गा क्षेत्रमा अवैध हुन्डी र अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) को कारोबार भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले ठूलो सफलता हात पारेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको विशेष टोलीले छापा मार्ने क्रममा १ करोड १६ लाख रुपैयाँ बराबरको स्रोत नखुलेको नगदसहित दुई जना युवालाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेहरूमा नागार्जुन–८ कै २८ वर्षीय सागर गिरी र सोही उमेरका प्रमोद प्रसाद धिताल रहेका छन् ।
प्रहरीले उनीहरूको साथबाट नगद मात्र नभई ठूलो परिमाणमा शङ्कास्पद कागजात र विद्युतीय उपकरणहरू समेत बरामद गरेको छ । विभिन्न व्यक्तिका नाममा जारी भएका २७ लाख ३० हजार रुपैयाँ बराबरका चेकहरू, बैंकका एटिएम कार्ड, नागरिकताका प्रतिलिपि र ३१ थान सिमकार्ड फेला पर्नुले यो एउटा ठूलो संगठित गिरोह हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । यसका साथै उनीहरूको साथबाट दुई थान चारपाङ्ग्रे र एक थान दुईपाङ्ग्रे सवारी साधन, ६ वटा मोबाइल र एउटा कम्प्युटर समेत जफत गरिएको छ ।
पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धानका लागि जिल्ला अदालत काठमाडौँबाट पाँच दिनको म्याद थप गरी हिरासतमा राखिएको छ । प्रहरीले उनीहरूले कुन–कुन अभौतिक मुद्रामा लगानी गरिरहेका थिए र हुन्डीको यो सञ्जाल कहाँ–कहाँ फैलिएको छ भन्नेबारे गहिरो अनुसन्धान गरिरहेको जनाएको छ । बरामद गरिएका मोबाइल र कम्प्युटरको फरेन्सिक जाँचपछि यस कारोबारमा संलग्न अन्य व्यक्तिहरूको समेत पहिचान हुने विश्वास लिइएको छ ।

















