Logo

३ फाल्गुण, काठमाडौं । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कायमै रहेकाले देशका विभिन्न भूभागमा बदली र वर्षाको सम्भावना देखिएको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै कोशी र बागमती प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा अहिले साधारणतया बादल लागेको छ । देशका अन्य भूभागमा भने आंशिक बदलीको अवस्था रहेको छ । हाल कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भेगका थोरै स्थानहरूमा हल्का वर्षासँगै हिमपात भइरहेको जानकारी महाशाखाले दिएको छ ।

आज दिउँसोको मौसम विवरणअनुसार देशका हिमाली भूभागमा आंशिक बदली रहने देखिन्छ । विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रका थोरै स्थान र बाँकी हिमाली भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । यसैगरी, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही सीमित स्थानहरूमा समेत मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने पूर्वानुमान गरिएको छ ।

आज रातिको समयमा गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रमा साधारणतया बदली रहनेछ भने गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका भूभागमा आंशिक बदली हुने देखिन्छ ।

देशका अन्य बाँकी भूभागमा भने मौसम मुख्यतया सफा रहने महाशाखाको भनाइ छ। यद्यपि, राति पनि कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रका एक(दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना कायमै रहने भएकाले सतर्कता अपनाउन अनुरोध गरिएको छ ।


सम्बन्धित समाचार