३ चैत,वीरगञ्ज । सशस्त्र प्रहरी बल, नेपाल शस्त्र प्रहरी गण नं. १३ पर्सा र वीरगञ्ज हेल्थ केयर अस्पतालको समन्वय तथा सहयोगमा पर्सा जिल्लाका विभिन्न गाउँपालिकामा रहेका शारीरिक रूपमा अशक्त तथा हिँडडुल गर्न नसक्ने चार जना व्यक्तिहरुलाई घरमै पुगेर ह्विलचेयर वितरण गरिएको छ।
यस कार्यक्रम अन्तर्गत जिराभवानी गाउँपालिका–१ पकडीटोला निवासी ६२ वर्षीय प्रेम चौधरीलाई ह्विलचेयर प्रदान गरिएको छ। उनी गाईवस्तुका लागि घाँस काट्ने क्रममा रुखबाट लड्दा स्पाइनकोड इन्जुरी भई पूर्ण रूपमा अपाङ्ग भएका हुन्। विगत दुई वर्षदेखि ओछ्यानमै सीमित रहेका चौधरीको परिवार आर्थिक रूपमा पनि कमजोर रहेको छ।
त्यसैगरी, जिराभवानी गाउँपालिका–२ सेढवा निवासी ३५ वर्षीय विनोद दास थारु, जो जन्मजात रूपमा हिँडडुल गर्न असमर्थ छन्, उनलाई पनि घरमै पुगेर ह्विलचेयर प्रदान गरिएको छ।
धोबनी गाउँपालिका–५ धोबनी निवासी ४२ वर्षीय मनबोध चौधरी मलाह रोगका कारण अपाङ्ग भई हिँडडुल गर्न नसक्ने अवस्थामा रहेका छन्। उनलाई पनि सोही कार्यक्रम अन्तर्गत ह्विलचेयर उपलब्ध गराइएको छ।
त्यसैगरी, बिन्दबासिनी गाउँपालिका–३ झौवा निवासी १० वर्षीय आलोक कुमार राम, जो जन्मजात अपाङ्गता भएका हुन्, उनलाई पनि घरमै पुगेर ह्विलचेयर प्रदान गरिएको छ।
ह्विलचेयर हस्तान्तरण कार्यक्रममा शस्त्र प्रहरी गण नं. १३ का गणपति एसपी मोहन बहादुर क्षेत्री, बोडर आउट पोस्ट महादेवपट्टीका प्रमुख हरीचन्द्र खडका, सामाजिक अभियन्ता प्रकाश थारु, सम्बन्धित वडाका अध्यक्षहरू रामशरण खवास तथा मनौवर अहमद, साथै स्थानीय व्यक्तित्वहरू रामसुरत प्रसाद कुर्मी र औरेन्जेब अहमद लगायतको उपस्थिति रहेको थियो।
सशस्त्र प्रहरी गण नं. १३ ले यसअघि पनि पर्सा जिल्लाका दुर्गम क्षेत्रहरूमा पुगेर असहाय तथा विपन्न नागरिकहरूलाई आवश्यक सहयोग प्रदान गर्दै आएको जनाएको छ।

















