३ चैत,माडी । चितवनको माडी नगरपालिका–८ स्थित रमणीय कुना गाउँमा स्थानीय युवा प्रकाश प्रजाले ‘ड्रिम लाइट होमस्टे’ सञ्चालनमा ल्याएका छन्। मिति २०८२ साल भदौ १ गतेदेखि सञ्चालनमा आएको उक्त होमस्टे प्राकृतिक सुन्दरता, मौलिक गाउँले जीवनशैली र चेपाङ समुदायको संस्कृतिलाई नजिकबाट अनुभव गर्न सकिने नयाँ गन्तव्यका रूपमा विस्तारै परिचित हुँदै गएको छ।
स्थायी रूपमा चौकीडाँडा निवासी ३३ वर्षीय प्रकाश प्रजा विगत लामो समयदेखि काठमाडौँमा ट्रेकिङ गाइडको रूपमा काम गर्दै आएका थिए। पर्यटन क्षेत्रमा अनुभव बटुलेका उनले डेढ वर्षअघि जागिर छोडेर आफ्नै पुर्खौली थलो फर्किएर व्यवसाय सुरु गरेका हुन्।
उनका अनुसार केही समयअघि विदेश जाने सोच पनि बनेको थियो, तर आवश्यक कागजी प्रक्रिया नमिल्दा विदेश जान नपाएपछि नेपालमै केही गर्ने हौसला पलाएको हो। त्यसपछि हजुरबुबाको पालादेखि बसोबास हुँदै आएको स्थानमा होमस्टे सञ्चालन गर्ने निर्णय गरेको उनले बताए।

कुना गाउँमा करिब १० घर चेपाङ समुदायको बसोबास रहेको छ। बैकुण्ठे खोलामाथिको झोलुङ्गे पुल पार गरेर पुगिने यो स्थान हरियाली जंगल, खोलाको छेउ र शान्त वातावरणले भरिपूर्ण छ। प्राकृतिक सुन्दरताको काखमा अवस्थित ‘ड्रिम लाइट होमस्टे’ मौलिक शैलीमा निर्माण गरिएको छ। खर्का छानाले बनेका घरहरू, ढुङाले बनाइएको सानो बाटो, वरिपरि लिची, अङ्गुर, सितलचिनी तथा फूलबारीले सजिएको वातावरणले यहाँ पुग्ने जो–कोहीलाई गाउँको मौलिकता अनुभूति गराउँछ।
प्रकाश प्रजाका अनुसार हालसम्म करिब ८ लाख रुपैयाँ खर्च गरेर उनले होमस्टेका आधारभूत संरचनाहरू निर्माण गरिसकेका छन्। उक्त लगानीबाट दुई वटा बसोबास कोठा, डाइनिङ रूम, दुई वटा किचन काउन्टर, परिसरको सौन्दर्यीकरण तथा बगैंचा व्यवस्थापनको काम गरिएको छ। साथै थप संरचना विस्तार गर्ने योजना पनि उनले अघि बढाइरहेका छन्।
प्रकाश प्रजाका अनुसार अहिले अधिकांश पाहुनाहरू एट्याच बाथरुम चाहिन्छ भन्ने अपेक्षा राख्ने गर्छन्। तर आफ्नो समुदायको परम्परागत जीवनशैलीलाई ध्यानमा राख्दै उनले कोठाभित्र नभई बाहिर छुट्टै ट्वाइलेट र बाथरुम निर्माण गरिरहेका छन्। “परापूर्वकालदेखि बसोबासको परम्परा अनुसार कोठाभित्र दिशा–पिसाब नहोस् भन्ने सोच पनि छ,” उनले बताए।
यद्यपि होमस्टे पुग्ने बाटो र स्वच्छ खानेपानीको समस्या भने यहाँको मुख्य चुनौतीका रूपमा रहेको उनले बताएका छन्। गाउँसम्म पुग्ने कच्ची सडक बर्खामा हिलो र गर्मीयाममा अत्यधिक धुलो हुने भएकाले पाहुनालाई आउन–जान असहज हुने गरेको छ। साथै स्वस्थ खानेपानीको अभाव पनि देखिएको छ। यदि स्थानीय, प्रदेश वा संघीय सरकारबाट सडक र खानेपानीको सुविधा सुधार गर्न सकियो भने यहाँ आउने पाहुनाको संख्या बढ्न सक्ने उनको विश्वास छ।

उनले दीर्घकालीन रूपमा फार्मस्टे सञ्चालन गर्ने योजना पनि बनाएका छन्। स्थानीय उत्पादन, मौलिक खानपान र गाउँको जीवनशैलीलाई पर्यटनसँग जोडेर अझ फराकिलो सम्भावना सिर्जना गर्ने उनको सोच छ। अहिले पनि यहाँ आउने कतिपय पाहुनाहरू पुनः दोहोरिएर आउने गरेको उनले बताएका छन्।
माडी क्षेत्र धार्मिक तथा प्राकृतिक पर्यटनका दृष्टिले सम्भावनायुक्त क्षेत्र मानिन्छ। माडीमा रहेका धार्मिक स्थल तथा पर्यटकीय सम्भावनालाई व्यवस्थित रूपमा प्रचार–प्रसार गर्न सके यस क्षेत्रका होमस्टे व्यवसायमा पनि सकारात्मक प्रभाव पर्ने वैकुण्ठ धामका अध्यक्ष राजकुमार परियारको धारणा छ।
उनको होमस्टेको अवलोकनका लागि माडी नगरपालिकाकी नगरप्रमुख, प्रमुख प्रशासकीय अधिकृत तथा वडा नम्बर ८ का वडा अध्यक्षसहित जनप्रतिनिधिहरूले समेत स्थलमै पुगेर निरीक्षण गरिसकेका छन्।
विशेषगरी प्रजा (चेपाङ) समुदाय नेपालका लोपोन्मुख तथा आर्थिक रूपमा कमजोर समुदायमध्ये एक मानिन्छ।
परम्परागत रूपमा व्यवसायसँग धेरै नजोडिएको यस समुदायबाट एक युवा आफ्नै गाउँ फर्केर पर्यटनसँग सम्बन्धित व्यवसाय सुरु गर्नु सकारात्मक र प्रेरणादायी कदमका रूपमा हेरिएको छ। यस्तो पहललाई स्थानीय सरकार, प्रदेश सरकार तथा संघीय सरकारले प्रोत्साहन र सहयोग गर्न सके लोपोन्मुख समुदायका युवालाई आत्मनिर्भर बन्न प्रेरणा मिल्ने अपेक्षा गरिएको छ।
स्थानीय स्तरमा पनि प्रकाश प्रजाको यो प्रयासलाई माडी क्षेत्रको सम्भावित पर्यटकीय विकाससँग जोडेर हेरिएको छ। उचित पूर्वाधार, सडक र आधारभूत सेवाको विस्तार हुन सके कुना गाउँ जस्ता स्थानहरू भविष्यमा ग्रामीण पर्यटनका आकर्षक गन्तव्यका रूपमा विकास हुन सक्ने सम्भावना देखिएको छ।


















