४ चैत्र, काठमाडौं । नेपाली बजारमा सुन र चाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको भाउ प्रतितोला २ हजार २ सय रुपैयाँले घटेको छ भने चाँदीको मूल्यमा पनि तोलामा १८५ रुपैयाँको गिरावट देखिएको छ । अघिल्लो दिन प्रतितोला ३ लाख ९ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन आज ३ लाख ७ हजार ७ सय रुपैयाँ कायम गरिएको छ । त्यसैगरी, चाँदीको भाउ पनि घटेर प्रतितोला ५ हजार १५० रुपैयाँमा झरेको छ ।
पछिल्लो समय सुनको मूल्यमा आएको यो गिरावट लगानीकर्ता र उपभोक्ताका लागि निकै अर्थपूर्ण देखिएको छ । गत माघ १५ गते सुनको मूल्यले इतिहासकै उच्च बिन्दु ३ लाख ३९ हजार ३ सय रुपैयाँको रेकर्ड कायम गरेको थियो । त्यसको तुलनामा अहिले सुनको भाउ करिब ३२ हजार रुपैयाँले सस्तिएको छ ।
अन्तर्राष्ट्रिय बजारमा आउने उतारचढाव र आन्तरिक मागको स्थितिका कारण नेपाली बजारमा मूल्य समायोजन भएको महासंघले जनाएको छ ।


















