६ चैत,काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा ठूलो गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला ७,८०० रुपैयाँले घटेर २,९४,५०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन सुन प्रतितोला ३,०२,३०० रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला ११५ रुपैयाँले घटेर ४,८९५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ। अघिल्लो दिन चाँदीको मूल्य प्रतितोला ५,०१० रुपैयाँ थियो।
गत माघ १५ गते सुनचाँदीको मूल्य उच्च बिन्दुमा पुगेको थियो। सो दिन सुन प्रतितोला ३,३९,३०० रुपैयाँ र चाँदी ७,५०५ रुपैयाँ पुगेको थियो। यससँग तुलना गर्दा हाल सुनको मूल्य करिब ४५,००० रुपैयाँले घटिसकेको छ।
बजार विश्लेषकहरूले अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढाव र माग–आपूर्तिको अवस्थाले स्थानीय बजारमा मूल्यमा प्रभाव पार्ने गरेको बताएका छन्।


















