Logo

८ चैत,काठमाडौं ।  पश्चिम एसियाली मुलुकमा जारी द्वन्द्वका कारण कच्चा तेल र प्लास्टिकजन्य कच्चा पदार्थको आपूर्ति प्रभावित भएको छ। यसले स्वदेशी उद्योग, विशेषगरी एचडीपी (हाइ डेन्सिटी पोलिथिन) पाइप उत्पादन गर्ने उद्योगमा गम्भीर समस्या सिर्जना गरेको छ। केही उद्योग बन्द भइसकेका छन् भने अन्य उद्योग बन्द हुने अवस्थामा छन्।

हाइडेन्सिटी पोलिथिन पाइप म्यानुफ्याक्चर्स एसोसिएसन अफ नेपालले जारी गरेको विज्ञप्तिमा भनिएको छ कि एचडीपी उद्योगमा प्रयोग हुने कच्चा पदार्थ (एचडीपी ग्रानुल्स) भारत र अन्य तेस्रो मुलुकबाट आयात हुँदै आएको थियो। तर पश्चिम एसियामा जारी तनावका कारण ढुवानीमा अवरोध आएको छ।

एसोसिएसनका अनुसार प्रतिस्पर्धात्मक बजारमा माग र आपूर्तिले मूल्य निर्धारण हुने भएकाले कच्चा पदार्थको मूल्य करिब ६२ प्रतिशतले बढेको छ। इन्धनको मूल्य वृद्धिले ढुवानी खर्च बढ्नुका साथै अमेरिकी डलरको मूल्य वृद्धिले पनि उद्योगमाथि भार परेको छ। यसले उत्पादन हुने पाइपको मूल्य बढ्नुपर्दा देशभरका खानेपानी तथा पूर्वाधार परियोजनामा असर पुग्ने अवस्था सिर्जना भएको छ।

संघले उद्योगहरूले बनाएका सम्झौता र कार्य सम्पन्न अवधि प्रभावमा नपरोस् भन्न सबै पक्षसँग आपसी समझदारी कायम गर्न अपिल गरेको छ। साथै बैंक तथा वित्तीय संस्थाहरुलाई उद्योगलाई फाइनान्सिङमा सहजता प्रदान गर्न आग्रह गरिएको छ।

एसोसिएसनले उद्योगका व्यवसायीहरूलाई धैर्यता अपनाउन र विपरीत परिस्थितिलाई सुझबुझपूर्वक सामना गर्न अनुरोध गर्दै, पाइपको अस्वाभाविक मूल्य वृद्धिमा संलग्न जोकोहीलाई कानुन अनुसार कारवाही हुने चेतावनी पनि दिएको छ।


सम्बन्धित समाचार
भर्खरै