८ चैत,काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो आठ महिनामा नेपालको वैदेशिक व्यापार १४ खर्ब ८० अर्ब ३६ करोड रुपैयाँ पुगेको छ। भन्सार विभागका अनुसार यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा १३.५५ प्रतिशतले वृद्धि हो।
त्यसमा १२ खर्ब ८९ अर्ब २५ करोड रुपैयाँको आयात भएको छ भने १ खर्ब ९१ अर्ब ११ करोड रुपैयाँ बराबरको निर्यात भएको विभागले जनाएको छ।
आयातमा यस अवधिमा १२.५४ प्रतिशत वृद्धि देखिएको छ। अघिल्लो वर्ष सोही अवधिमा आयात ११ खर्ब ४५ अर्ब ५६ करोड रुपैयाँ रहेको थियो। फागुन महिनामा मात्र १ खर्ब ६५ अर्ब ७६ करोड रुपैयाँ बराबरको आयात भएको तथ्याङ्क छ।
निर्यातमा पनि उल्लेख्य सुधार देखिएको छ। फागुन मसान्तसम्म निर्यात १ खर्ब ९१ अर्ब ११ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको १ खर्ब ५८ अर्ब १७ करोड रुपैयाँको तुलनामा २०.८३ प्रतिशत बढी हो।
आयात-निर्यात अनुपातमा केही सुधार आएको देखिएको छ। अघिल्लो वर्ष १ रुपैयाँ बराबरको निर्यात गर्दा ७.२४ रुपैयाँको आयात हुने गरेकोमा यस वर्ष सो अनुपात घटेर ६.७५ रुपैयाँमा झरेको छ।
कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सा अघिल्लो वर्ष १२.१३ प्रतिशत रहेकोमा यस वर्ष बढेर १२.९१ प्रतिशत पुगेको छ। त्यस्तै, आयातको हिस्सा भने ८७.८७ प्रतिशतबाट सामान्य घटेर ८७.०९ प्रतिशतमा झरेको छ।


















