Logo

८ चैत, काठमाडौं । सरकारले अब राष्ट्रिय परिचयपत्र प्राप्त गर्न सेवाग्राहीहरूका लागि सेवा अझ सरल र छिटो बनाएको छ। गृहमन्त्री ओमप्रकाश अर्यालले ललितपुर जिल्ला प्रशासन कार्यालयको निरीक्षण गर्दै सेवाग्राहीहरूको समय र खर्च बचत गर्ने नयाँ व्यवस्था सुरु गरिएको जानकारी दिएका छन्।

गृह मन्त्रालय अन्तर्गत सञ्चालनमा रहेका केन्द्रिकृत नागरिकता व्यवस्थापन सूचना प्रणाली र राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीलाई अन्तरआबद्ध गरी सेवा प्रवाह सुरु गरिएको छ। यसले गर्दा अब सेवाग्राहीहरूले एउटै विवरणका लागि विभिन्न सरकारी निकायमा छुट्टाछुट्टै फारम भर्नुपर्ने झन्झट अन्त्य भएको छ।

मन्त्री अर्यालले भने,
“अब राष्ट्रिय परिचयपत्र प्राप्त गर्न आवेदन गर्दा सेवाग्राहीहरूले जैविक विवरण (बायोमेट्रिक) दिनका लागि छुट्टै राष्ट्रिय परिचयपत्र इकाईमा जानुपर्ने बाध्यता हटेको छ। यसले नागरिकको समय र आर्थिक खर्च दुवै बचत हुन्छ।”

हाल केही स्थानहरूबाट केन्द्रिकृत सेवा प्रवाह सुरु भइसकेको छ र सरकारले यसलाई क्रमशः देशभर विस्तार गर्ने योजना बनाएको छ। यस पहलले नागरिकलाई सहज, छिटो र झन्झटरहित सेवा प्रदान गर्ने उद्देश्य राखेको छ।


सम्बन्धित समाचार