८ चैत, काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूको पद तथा गोपनीयताको शपथका लागि नयाँ संसद् भवनको बहुउद्देश्यीय हलमा आवश्यक व्यवस्थापन कार्य अन्तिम चरणमा पुगेको छ।
संघीय संसद् सचिवालयकी सहसचिव बविता मिश्रका अनुसार नयाँ संसद् भवनभित्र मुख्य सभाकक्ष निर्माण सम्पन्न नभएकाले अस्थायी रूपमा बहुउद्देश्यीय हलमै शपथ कार्यक्रम आयोजना गर्न लागिएको हो।
हलमा सभामुखको आसन व्यवस्थापन गरिनुका साथै दायाँतर्फ सत्तापक्ष र बायाँतर्फ प्रतिपक्षी सांसदहरू बस्ने गरी व्यवस्था मिलाइएको छ। कुर्सी, माइक, बत्ती जडान तथा रंगरोगनको काम पनि अन्तिम चरणमा पुगेको बताइएको छ।
मिश्रले शपथ कार्यक्रमसँगै प्रतिनिधिसभाका प्रारम्भिक बैठकहरू पनि केही समय सोही हलबाट सञ्चालन गरिने जानकारी दिइन्।
नवनिर्वाचित सांसदहरूको पद तथा गोपनीयताको शपथ आगामी चैत १२ गतेका लागि तय गरिएको छ।

















