Logo

८ चैत, महोत्तरी । चालु आर्थिक वर्ष २०८२/८३ मा महोत्तरीको गौशाला नगरपालिका–१ रामनगरस्थित एभरेष्ट चिनी उद्योगले उखु अभावका कारण निर्धारित क्रसिङ लक्ष्य हासिल गर्न सकेन।

उद्योगका अनुसार यस याममा ८९ दिन मात्र सञ्चालन भएको क्रसिङमा २८ लाख ५३ हजार १७८ क्विन्टल उखु प्रशोधन गरिएको छ, जुन निर्धारित ३१ लाख क्विन्टल लक्ष्यभन्दा २ लाख ४७ हजार ८२२ क्विन्टल कम हो।

उद्योगका महाप्रबन्धक सुरेन्द्र शुक्लाले पर्याप्त उखु उपलब्ध नहुँदा पटक–पटक क्रसिङ रोक्दै सञ्चालन गर्नुपरेको बताए। उद्योगले गत पुस ७ गतेदेखि सुरु गरेको क्रसिङ बिहीबारसम्म सञ्चालन गरेको थियो।

पछिल्ला वर्षहरूमा भुक्तानी प्रक्रिया सहज बनाइए पनि उखुखेती अपेक्षाअनुसार बढ्न नसकेको देखिएको छ। एक दशकअघि १५ हजार बिघाभन्दा बढी रहेको उखुखेती चार वर्षअघि घटेर ५–६ हजार बिघामा सीमित भएको थियो भने अहिले करिब ९ हजार बिघामा खेती भइरहेको उखु उत्पादक कृषक सङ्घ महोत्तरीका अध्यक्ष नरेशसिंह कुशवाहाले बताए।

उनका अनुसार भुक्तानी सहज भए पनि उखुको मूल्य निर्धारण र अनुदानमा समस्या कायम रहेकाले किसानमा उत्साह बढ्न सकेको छैन। किसानहरूले प्रतिक्विन्टल ७५० रुपैयाँ मूल्य माग गरे पनि सरकारले ६२० रुपैयाँ मूल्य र ७० रुपैयाँ अनुदान गरी ६९० रुपैयाँ कायम गरेको छ, जुन लागतअनुसार कम भएको उनीहरूको गुनासो छ।

उद्योगले भने तौल भएको दुई साताभित्रै भुक्तानी दिने व्यवस्था गरेको जनाएको छ। हालसम्म फागुन २६ गतेसम्म तौल भएका २६ लाख ३२ हजार क्विन्टल उखुको करिब १ अर्ब ६२ करोड रुपैयाँ १ हजार १७४ किसानको बैंक खातामा भुक्तानी भइसकेको छ।


सम्बन्धित समाचार
भर्खरै