Logo

८ चैत,चितवन । जिल्ला स्तरीय लैङ्गिक हिंसा नियन्त्रण सञ्जाल समिति चितवनको आयोजनामा आज जिल्ला प्रहरी कार्यालय चितवन परिसरमा परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम गोविन्द पुरीको सभापतित्वमा सम्पन्न भएको हो।

कार्यक्रममा हालै सरुवा भई आउनुभएकी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा विभागकी प्रमुख प्रहरी निरीक्षक अस्मिता गोदारसँग परिचय आदान–प्रदान गरिएको थियो। सो अवसरमा उहाँले प्रोजेक्टरमार्फत जिल्ला प्रहरी कार्यालय चितवनको पछिल्लो तीन वर्षको विस्तृत तथ्याङ्क प्रस्तुत गर्दै विभिन्न वर्षमा दर्ता भएका लैङ्गिक हिंसासम्बन्धी घटनाहरू, तिनको समाधान प्रक्रिया तथा मेलमिलाप भएका घटनाहरूको अवस्था स्पष्ट पार्नुभयो। साथै देशैभरको समग्र अवस्थाको तुलनात्मक तथ्याङ्क प्रस्तुत गर्दै उहाँले समस्या र समाधानका प्रवृत्तिहरूलाई समेत उजागर गर्नुभयो।

कार्यक्रममा सहभागी पत्रकार प्रतिमा सिलवालले विशेष जोड दिँदै चितवन जिल्ला प्रहरी कार्यालय मातहतका सबै प्रहरी युनिटहरूमा समुदायस्तरसम्म पुग्ने गरी लैङ्गिक हिंसा नियन्त्रण सञ्जाल समिति विस्तार गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो। टोल विकास संस्था, आमा समूह तथा स्थानीय समुदायसँग प्रत्यक्ष समन्वय गरी यस्ता सञ्जालहरू गठन गर्न सके लैङ्गिक हिंसा न्यूनीकरणमा अझ प्रभावकारी परिणाम प्राप्त गर्न सकिने उहाँको धारणा थियो।

अन्य सहभागीहरूले पनि समुदाय–प्रहरी सहकार्यलाई अझ सुदृढ बनाउँदै सचेतनामूलक कार्यक्रम, रोकथामका उपाय तथा पीडितमैत्री सेवा प्रवाहलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका थिए। कार्यक्रममा उठेका जिज्ञासाहरूलाई प्रहरी उपरीक्षक गोविन्द पुरीले सम्बोधन गर्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

समुदाय र प्रहरीबीचको सहकार्यलाई संस्थागत गर्दै टोलदेखि जिल्लासम्म सञ्जाल विस्तार गर्ने पहलले लैङ्गिक हिंसा नियन्त्रणमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरिएको छ।


सम्बन्धित समाचार