Logo

९ चैत, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन यथाशीघ्र सार्वजनिक गर्न सरकारसँग माग गरेका छन्।

सोमबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत् आफ्नो धारणा सार्वजनिक गर्दै पौडेलले कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णयअनुसार पनि प्रतिवेदन सार्वजनिक गर्न आग्रह गरिएको उल्लेख गरेका छन्। ‘म जाँदै गरेको यो सरकारलाई यथाशीघ्र प्रतिवेदन सार्वजनिक गरेर आफ्नो दायित्व पूरा गर्न फेरि पनि अनुरोध गर्दछु,’ उनले लेखेका छन्।

गत ८ चैतमा बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले समेत उक्त प्रतिवेदन सार्वजनिक गर्न माग गर्ने निर्णय गरेको थियो।

गत भदौ २३ र २४ गते भएको जेनजी युवाहरूको आन्दोलनका घटनाबारे छानबिन गर्न गौरीबहादुर कार्कीको नेतृत्वमा गठन गरिएको आयोगले फागुन २४ गते सरकारलाई प्रतिवेदन बुझाएको थियो। आयोगका सदस्य एवं प्रवक्ता विज्ञानराज शर्माले उक्त प्रतिवेदन विगतका आयोगहरूजस्तो गुप्त नरहने बताएका थिए।

१ चैतमा बसेको मन्त्रिपरिषद् बैठकले प्रतिवेदन ग्रहण गर्ने निर्णय गरेको थियो। बैठकपछि ओमप्रकाश अर्यालले ‘भोलि सार्वजनिक हुन्छ’ भने पनि हालसम्म प्रतिवेदन सार्वजनिक गरिएको छैन।

जेनजी आन्दोलनका अगुवा तथा विभिन्न नागरिक निगरानी समूहहरूले प्रतिवेदन सार्वजनिक गर्न सरकारमाथि निरन्तर दबाब दिँदै आएका छन्।

पौडेलले प्रतिवेदन सार्वजनिक गर्न ढिलाइ हुनु ‘विडम्बना’ भएको टिप्पणी गर्दै सरकारले आफ्नो दायित्वबाट विमुख भएको आरोप लगाएका छन्। ‘आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुबै हो, यसलाई गुपचुप राखिनु विडम्बना हो,’ उनले भने।

उनले प्रतिवेदन सार्वजनिक नहुँदा विभिन्न आशंका जन्मिएको उल्लेख गर्दै प्रश्न गरेका छन्, ‘कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न के ले रोक्यो?’


सम्बन्धित समाचार