९ चैत,वीरगञ्ज । चैत ६ र ७ गते परेको अविरल वर्षा र हावाहुरीले रौतहटका इँटा उद्योगहरूमा ठूलो आर्थिक नोक्सानी पुर्याएको छ। खुला स्थानमा सुकाउन राखिएका काँचो इँट्टा भिजेर नष्ट हुँदा जिल्लाभर करिब ४ करोड रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ।
रौतहट इट्टा उद्योग व्यवसायी संघका अध्यक्ष एवं एसपिएल इट्टा उद्योगका सञ्चालक रामबिनोद साहका अनुसार जिल्लामा सञ्चालित करिब ५० वटा इँटा उद्योगमध्ये सबैभन्दा बढी क्षति पुगेको छ। तथ्यांकअनुसार विभिन्न उद्योगहरूमा १० लाख रुपैयाँभन्दा बढी मूल्यको काँचो इँट्टा पूर्ण रूपमा नष्ट भएको छ।
वृन्दावन नगरपालिका-२ स्थित राधाकृष्ण इट्टा उद्योगमा मात्र ५५ लाख रुपैयाँभन्दा बढीको क्षति भएको सञ्चालक प्रेमशंकर यादवले बताए। यसबाहेक बिके, वीर, पूजा, एमबिआई, सोना र रामजानकी उद्योगहरू समेत प्रभावित भएका छन्।
एक काँचो इँट्टा तयार गर्न माटो, पानी र मजदुरीसहित औसत ७ रुपैयाँभन्दा बढी लागत लाग्ने हुँदा वर्षाले गलाएपछि व्यवसायीहरूको करोडौँको लगानी नष्ट भएको छ।
अध्यक्ष साहले भने, ‘हाम्रो लगानी डुब्न लाग्दा पनि सरकार, स्थानीय प्रशासन वा वित्तीय निकायले कुनै चासो देखाएका छैनन्। हामीले बिमा प्रणालीको व्यवस्था गर्न बारम्बार आग्रह गरेका छौँ, तर सुनुवाइ भएको छैन।’
व्यवसायीहरूले प्राकृतिक प्रकोपबाट हुने क्षति न्यूनीकरणका लागि काँचो इँट्टाको बिमा प्रणाली लागू गर्न सरकार र वित्तीय निकायसँग आग्रह गर्दै तत्काल राहत र दीर्घकालीन सुरक्षाका लागि पहलको माग गरेका छन्।


















